काठमाडौँ ०८ असोज। नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताए। पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उहाँले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितीका कारण यस वर्षमा बृद्धभत्तामा केही बृद्धि गरे पनि लक्ष्यमा पुग्न नसकेको उनको भनाइ छ । जेष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा बताउँदै थापाले सामाजिक सुरक्षाका हरेक विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राखे । तीनै तहका सरकारले सामाजिक न्यायसहित विकास निर्माणलाई अघि बढाएको बताउँदै थापाले त्यसको प्रतिफल देखिन समय लाग्ने बताए ।
वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुशुम केशव पराजुलीले आश्रम सञ्चालनको क्रममा विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणले प्रभावित बनाएको बताउँदै यस विषम परिस्थितीमा पनि सहयोगी दाताको निरन्तर सहयोग प्राप्त भएको जानकारी दिए। आगामी दिनमा आश्रमको सञ्चालनका लागि दीर्घकालीन सोचका साथ अघि बढिएको उल्लेख गर्दै उनले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।