धनगढी, २० पौष – प्रहरीले कैलालीको धनगढीबाट लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १ स्थित कैलाली जिल्ला अदालत पछाडिको खाली जमिनमा लागू औषधको कारोबार गरिरहेको अवस्थामा शनिवार बेलुका ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
केही व्यक्तिहरूले लागू औषध (खैरो हेरोईन) को कारोबार गरिरहेका छन् भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उप महानगरपालिका वडा नं १ का २२ वर्षीय समीर घिमिरे, २६ वर्षका सौगात बोन सिजापती, २३ वर्षका रोहित नेपाली, ३० वर्षका रोशन सिंह र वडा नम्बर ४ बस्ने २० बर्सिया अस्मि ढुङ्गानालाई पक्राउ गरेको हो ।
उनीहरूको शरीर खान तलासी गर्दा ३ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । कैलाली जिल्ला अदालतबाट लागू औषध ब्राउन सुगरमा ७ दिनको म्याद थप गरी ४ जनाकै विषयमा अनुसन्धान अघि बढाएको उनको भनाई छ ।