नेपाली कांग्रेसको केन्द्रीय समितिले आउँदो २०७७ सालको फागुन ७ गते पार्टीको चौधौं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।
सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए यता भएको राम्रो निर्णय सायद यही नै हो । पार्टीको विधानले निर्धारित गरेको समयमा महाधिवेशन गर्न सकेको भए अहिले सायद जिल्ला र प्रदेश तहका अधिवेशन भइरहेका हुन्थे ।
यही २०७६ साल फागुनमा नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको अवधि समाप्त हुन्छ । अप्ठेरो अवस्थामा पार्टी केन्द्रीय समितिको अवधि थप गर्ने प्रावधान विधानमै राखेर अरू पार्टीहरूले जस्तै कांग्रेसले पनि विधान मिच्ने वैध उपायको जोहो गरेको थियो । अहिले सभापति देउवालाई काम लाग्यो ।
महाधिवेशनको कार्यतालिकासँगै अरू पनि निर्णय कांग्रेस केन्द्रीय समितिकै नाममा गरिएको छ । विधानमा व्यवस्था नभएका विभागहरू थप गर्ने वा क्रियाशील सदस्यतासम्बन्धी धाराहरू निलम्बन गर्नेजस्ता निर्णय पनि गरिएको सार्वजनिक भएको छ । विधान मिचेर कुबेलामा विभागहरू थप गर्ने र क्रियाशील सदस्यतासम्बन्धी धारा निलम्वन गर्ने निर्णय चाहिँ कांग्रेस सभापतिका रूपमा देउवाले गरेका धेरै गलत निर्णयहरूमध्ये पनि सबैभन्दा नराम्रो निर्णय हो । यसले नेपाली कांग्रेसको संगठनलाई नराम्ररी थला पार्नसक्छ ।
केही सातादेखि केन्द्रीय समितिको बैठक बहिष्कार गरेर बसेका असन्तुष्ट नेतहरूको अनुपस्थितिमै महाधिवेशन गर्ने निर्णय गरिएको छ । असन्तुष्ट समूहले केन्द्रीय समितिको बहुमत पक्षले एकलौटीरूपमा गरेको निर्णय स्वीकार नगर्ने घोषणा गरिसकेको छ ।
महाधिवेशन २०७७ फागुनको साटो केही महिना पहिले गर्न सकिने र गर्नुपर्ने धारणा असन्तुष्टहरूले व्यक्त गरेका छन् । उनीहरूका अनुसार २०७७ को फागुनमा कुनै कारणले महाधिवेशन हुन सकेन भने पार्टीको वैधता नै संकटमा पर्नेछ । यस्तै, विभागको संख्या थप गरेकोमा र क्रियाशील सदस्यतासम्बन्धी धारा निलम्वन गरेकोमा पनि असन्तुष्ट पक्षको असहमति रहेको छ ।
सभापति देउवाको समूहले बलमिच्याइँ गरेर असन्तुष्ट पक्षलाई ‘पेले’को पक्कै हो । तर, असन्तुष्ट भनिने समूहले पनि भागबन्डा खोज्ने र घुर्की लगाउनेबाहेक यतिका दिनसम्म पार्टीको संगठन सुदृढ गर्न केही गरेको देखिएको छैन । विधान पालना गर्ने गराउनेमा पनि असन्तुष्ट भनिएकाहरू इमानदार देखिएका छैनन् । भाग पाएमा विधान मिचे पनि मन्जुर हुने, भाग नपाएमात्र विधानको रक्षा गर्ने भूत जाग्ने असन्तुष्ट पक्षको प्रवृत्तिले पार्टीको हानि सभापति देउवाको एकलौटीकै हाराहारीमा गरेको छ ।
असन्तुष्ट पक्षका नेताहरूले केन्द्रीय समितिको निर्णय नमान्ने त भने तर उनीहरूसँग धेरै विकल्प बाँकी छैन । महाधिवेशनसँगै क्रियाशील सदस्यता वितरणको कार्यतालिका पनि सार्वजनिक भएको छ । महाधिवेशन प्रक्रियामा सहभागी नहुने हो भने संस्थापनले एकलौटीरूपमा तल्ला तहका पार्टी संगठन कब्जा गर्न सक्छ । सहभागी हुन पनि अहिले केन्द्रीय समितिको निर्णय नमान्ने घोषणाले नैतिक संकटमा पार्न सक्छ । मैदान छाडेर देउवा पक्षलाई सजिलो बनाउने कि केन्द्रीय समितिको निर्णयअनुसार हुने महाधिवेशन प्रक्रियामा भाग लिने भन्नेबाहेक असन्तुष्टहरूसँग अर्को विकल्प देखिँदैन ।
असन्तुष्ट पक्षले केन्द्रीय समितिमा बहुमतको सामना बैठकमा उपस्थित भएरै गर्नुपर्थ्यो । बैठक छाड्नु उनीहरूका लागि प्रत्युत्पादक भयो । असन्तुष्ट समूहका नेताहरूमा शेरबहादुर देउवाको जस्तो पार्टी फुटाउने आँट र क्षमता पनि छैन । तर, नेपाली कांग्रेस पार्टीको मूलधार अझै पनि असन्तुष्ट समूह नै हो भन्ने सभापति देउवा र उनको समूहले बिर्सनु हुँदैन ।
कांग्रेसका कार्यकर्तामा विवेक मरिसकेको छैन भने उनीहरूले देउवाको पार्टी फुटाउने दुस्साहस बिर्सिसकेका पनि छैनन् होला । देउवाले विधान मिचेर पार्टी कब्जा गर्न त सक्लान् तर कांग्रेसका प्रतिबद्ध कार्यकर्तालाई सक्रिय बनाउन सक्तैनन् । त्यस अवस्थामा देउवाको पार्टी कब्जा ‘बिरालाले घरका सबै मरे सधैँ न्यानो चुलोमा सुतिरहन पाउँथे‘ भनेजस्तै हुनेछ । यसैले नेपालको सबैभन्दा पुरानो र गौरवमय इतिहास भएको नेपाली कांग्रेसलाई जोगाउने र जगाउने हो भने सभापति देउवाले नै सम्झौताको हात अगाडि बढाउनुपर्छ । नत्र, इतिहासमा पार्टी फुटाएर राजालाई लोकतन्त्र बुझाएको मात्र हैन नेपाली कांग्रेसलाई समाप्त पारेको कलंकबाट पनि देउवा जोगिनेछैनन् ।
पार्टीको महाधिवेशन गर्नुको विकल्प छैन । पार्टी एक नभए स्थानीय अधिवेशनहरू औपचारिकतामा सीमित हुनेछन् । त्यस अवस्थामा लगत्तै हुने राष्ट्रिय र स्थानीय निर्वाचनमा कांग्रेसका अवस्था अहिलेभन्दा पनि नराम्रो हुनेछ । यसैले महाधिवेशन कुनै एउटा पक्षको कार्यक्रम बन्नु हुँदैन । पार्टीका कार्यकर्तामा व्याप्त निराशा कम गर्न पनि अधिवेशनमा एक भएर जानुको विकल्प देखिँदैन ।
असन्तुष्टहरूले विनासर्त महाधिवेशनको कार्यतालिका स्वीकार गर्ने र बहुमत पक्षले क्रियाशील सदस्यताका धारा निलम्वन गर्ने तथा विभागहरू थप गर्ने निर्णय कार्यान्वयन नगर्ने हो भने कसैले पनि हार्ने छैन । स्थानीय तहका कार्यकर्ता अधिवेशनमा सक्रिय भएर लाग्नेछन् ।
अहिले सभापति देउवा र असन्तुष्ट नेताहरूले सुझबुझ देखाउन सके नेपाली कांग्रेस दुबोजस्तै सुकेर पनि पलाउन सक्नेछ । नत्र, कांग्रेस समाप्त पारेको कलंक देउवालाई त लाग्ने नै छ असन्तुष्ट समूहका नेताहरू पनि उम्कन सक्नेछैनन् । अहिले त दुवै पक्षले एकअर्कालाई सिध्याउन खोज्दा आत्मघाती गोल गरिरहेका छन् । #बाह्रखरीबाट-साभार