कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १२ ओदाली स्थित महाकाली नदी माथी निर्माणाधिन चारलेनको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको महाकाली पुल आयोजनाले दावी गरेको छ । आयोजनाले यसै आर्थिक वर्षमा नै राजमार्ग सम्मको छ लेनको पहुँच मार्गलाई कालोपत्रे गरेर सक्काउने बताएको छ ।
महाकाली पुलमा निर्माणाधिन ४ लेनको पुलको काम हाल सम्म करिब ३६ प्रतिशत काम सम्पन्न भएको दावी गरेको छ । आयोजनाले यसै आर्थिक वर्षमा ६५ देखि ७० प्रतिशत सम्म काम गरिसक्ने बताएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा काम शुरु गरेको पुल आयोजनाले हाल सम्म ३६ प्रतिशत काम सम्पन्न भएको आयोजनाका सुचना अधिकारी तथा इन्जिनियर शुलभ न्यौपानेले बताए ।
हाल पुलको फिडिङ्ग निमार्ण गरि पिल्लर हाल्ने र स्लाब निर्माण गर्ने काम भइरहेको छ साथै पुलदेखि राजमार्ग सम्म जोड्ने ६ लेनको बाटो निर्माणका लागि नाली बनाई भुजेला देखि ओदाली सम्म ६ लेनको बाटो निर्माण पनि भईरहेको छ । ‘पुलको ३६ प्रतिशत जति काम भइरहेको छ , हाल पुलको पिल्लर हाल्ने र ६ लेनको पहुँच मार्गमा नाली बनाई सकेर ६ लेनको बाटो निर्माण गर्ने काम भएरहेको छ । उक्त बाटोलाई यसै आर्थिक वर्षमा कालोपत्रे गरिसक्ने योजनामा काम गरिहेका छौँ ’ इन्जिनीयर न्यौपानेले भने ।
गत आर्थिक वर्ष २०७४/७५ भदौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरे पश्चात पुल निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले निर्माण सामाग्री जडान पुलको पिल्लर बनाउने र राजमार्ग जोड्ने ६ लेनको सडक निर्माणको कार्य गरिरहेको छ । निर्माण कम्पनीले पुल निर्माणस्थलमा हाल पुलको मूख्य पिल्लरहरु र सहायक पिल्लर बनाउनुका साथै पुलमाथि स्लाबहरु जोड्ने कार्य पनि गरिहेको छ । कम्पनिले हाल सम्म १३ वटा पिल्लर निर्माण गरिसकेको छ भने पुलको बिच भागमा तीन वटा पिल्लरमा पुलको निर्माणका लागि स्लाव र स्पान जोड्ने काम भईरहेको छ । यसका साथै पारापेटपोष्ट पनि निर्माणको काम भइरहेको छ । भने यसका साथै नयाँ पश्चिम तर्फतिर नयाँ पिल्लर निमार्णका लागि फाउण्डेसन खन्ने काम भइरहेको आयोजनाका ईन्जिनीयर न्यौपानेले बताए । आगामी माघ सम्ममा पुलको पिल्लरको फाउण्डेसनको काम सम्पन गरिसक्ने उनले बताए ।
आयोजनाले हाल सम्म पुल निर्माणका क्रममा करीब ९८ करोड रुपैयाँ सकिएको बताएको छ । ३ अर्व २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । पुलको हाल सम्म ३६ प्रतिशत काम सम्पन्न गर्दा सम्म करीब ९८ करोड रुपैयाँ फछर्याट भइसकेको सुचना अधिकारी न्यौपानेले बताए । आयोजनाले आर्थिक वर्ष २०७४/७५ मा साढे ६ करोक बजेट खर्च गरेको बताएको । भने गत आर्थिक वर्ष ७५/७६ मा ८२ करोड ५० हजार बजेट खर्च गरेको थियो । सरकारले यस आर्थिक वर्षमा पुलको लागि ९० करोड विनियोजन गरेकोमा हाल सम्म १२ करोड खर्च भईसकेको आयोजनाका ईन्जिनीयर न्यौपानेले बताए ।
यस्तै पुल आयोजनाले पुल आयोजनाको सडकमा पर्ने जग्गा धनीको मुअब्जा वितरणको काम पनि लगभग सकिएको बताएको छ । आयोजनाले मुअब्जा वितरणका लागि करिब १० करोड बजेट छुट्याएका थियो । जसमा दर्तावाला जग्गा धनि र ऐलानी जग्गा रहेका जग्गाधनी दुवैलाई मुअब्जाको टुङ्गो लगाई पारित गर्नका लागि पठाई सकिएको आयोजनाका ईन्जिनीयर न्यौपानेले बताए । ‘६ लेनकने सडकमा पर्ने जग्गाधनीलाई मुआब्जा दिन रु १० करोड बजेट यो बर्ष बिनियोजन भएको थियो ।’ न्यौपानेले भने ‘मुआब्जा वितरणको कार्य करीब करीब पुरा भएकाले सडक निर्माणको लागि सडक छेउको नाली निमार्णको काम पनि सुरु भएरहेको छ, पुलसंगै महाकाली नदी वारी करिब ६ किलोमिटरको बाटोलाई यसै वर्षमा कालोपत्रे गर्ने योजना छ’ उनले भने ‘पुलका लागि चालु आवमा रु ९० करोड रकम आएको छ ।’
महाकाली पुलको निर्माण अवधी ३ बर्ष तोकिएकोमा हाल एक वर्ष थप गरिएको छ । सम्झौता अनसार पुल निर्माण कार्य वि.सं. २०७७ भदौमा सम्पन्न हुने भनिए पनि सरकारका काम कारवाहि र ७४ सालको निर्वाचन लगायतका कामले मुअब्जा वितरण लगायतका कामको ढिलाईले गर्दा पुल निर्माणको काम समयमै नसकिने भन्दै एक वर्ष समयावधी थप गरेको सुचना अधिकारी न्यौपानेले बताए । नयाँ सम्झौता अनुसार अब पुलको निर्मार्ण कार्य २०७८ भदौमा सम्पन्न हुने बताए । पुल निर्माण भए पछि उक्त नाका नेपाल-भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास हुने स्थानीयबासीको अपेक्षा रहेको छ ।