बाँके, २४ मंसिर - जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुर वरिपरिको निषेधाज्ञा हटाएको छ । कोहलपुर नगरपालिका ६ मा आइतबार स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि उत्पन्न तनावका कारण लगाइएको निषेधाज्ञा मंगलबार बिहान साढे १० बजेदेखि हटेको हो ।
प्रशासनले पूर्वमा चप्परगौँडी¸ पश्चिममा किरण नाला¸ उत्तरमा नौबस्ता र दक्षिणमा पिपिरीसम्म निषेधाज्ञा जारी गरेको थियो । कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतबार कोहलपुर तनावग्रस्त रह्यो ।
सोमबार सबै विद्यालय बन्द गराइएको थियो । त्रिभुवन नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृतिको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, नेपाल प्रहरीले इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय, बाँकेमा तानिएका छन् । जिल्लामा कार्यरत डीएसपी शिवबहादुर सिंहलाई कोहलपुरमा पठाइएको छ ।