डडेल्धुरामा बस र जीप ठोक्किँदा तीनजना घाइते भएका छन्।
गन्यापधुरा गाउँपालिका-३ सकायलको जगंल स्पा नजिक खोलामा बस र जीप ठोक्किँदा तीनजना घाइते भएका हुन्।
बुधबार दिपायलबाट धनगढीतर्फ गइरहेको ना४ख ३६०५ नम्बरको बस र डडेल्धुराबाट दिपायलतर्फ गइरहेका से१ज ९०३७ नम्बरको जीप ठोक्किएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। तीनजना घाइतेमध्ये एकजना उपचारपछि घर फर्किसकेको र अरु दुई जनाको डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ।
धनगढी रेफर हुनेमा डडेल्धुराको गन्यापधुरा–३ की ५८ वर्षीया कलापती ठगुन्ना, र बैतडी मेलौली नगरपालिकाका ६८ वर्षीय पुरन चन्द रहेका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। कलापतीको टाउँकोमा सामान्य चोट लागेको र चन्दको हात भाँचिएको डीएसपी न्यौपानेले बताए। साँघुरो सडक र स्पिड भएका कारण बस र जीप ठोक्किएको प्रहरीको अनुमान छ।
बस र जीप ठोक्किँदा यात्रुहरू हुत्तिएर घाइते भएका हुन्। गाडीमा सामान्य क्षति पुगेको बताइएको छ।