काठमाडौं । देश सञ्चारका सुर्खेत संवाददाता पत्रकार डिलप्रसाद शर्माको निधन भएको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा २३ वर्षको उमेरमा पत्रकार शर्माको निधन भएको हो।
बोनम्यारोमा समस्या आएपछि चार महिनाअघि अस्पताल भर्ना भएका पत्रकार शर्माको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा बिहीबार निधन भएको हो।
विगत ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा सुर्खेतबाट प्रकाशन हुने साझा बिसौनी दैनिकमा समेत कार्यरत थिए।
पत्रकार शर्मा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका जिल्ला सदस्य तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिवसमेत थिए।
पत्रकार शर्माको निधनमा नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर दु:ख व्यक्त गरेको छ। महासंघले शर्माको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको जनाएको छ।