बाल मनोरोग विशेषज्ञ, कान्ति बाल अस्पताल तिहारसँग जोडिएर आउने एउटा पक्ष पटका हो । तिहार लाग्नुभन्दा अघिदेखि नै पटका पड्काएको सुनिन्छ । पटका पड्काउन कानुनले त रोक लगाएको छ नै स्वास्थ्यका दृष्टिकोणले पनि यसले कुनै फाइदा गर्दैन । अस्वस्थ मानिस मात्र होइन स्वस्थ मानिसका लागि पनि पटका हानिकारक छ ।
पटकाले छालाको माथिल्लो र कहिलेकाहीं भित्री भाग पोल्नुका साथै अंगभंग समेत हुन सक्छ । तीब्र आवाजमा अचानक आउने पटकाको आवाजले तर्सेर बालवालिकाको सातो जान सक्छ । पछि गएर यसले गर्दा नै उनीहरुमा मनोरोग देखिन सक्छ । पटकाले आँखामा लाग्दा आँखामा रगत जम्ने, आँखाको लेन्सले स्थान छोड्ने, रेटिनामा रगत आउने जस्ता समस्या आउन सक्छ ।
यसले गर्दा आँखाको दृष्टि नै गुम्छ । पटकाबाट निस्किने सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइडजस्ता रसायनले दम र मुटु रोगको समस्या बढ्छ । पटकाबाट अचानक निस्किने तीव्र आवाजले मुटु र रक्तचापका बिरामीमा अचानक मुटुको समस्या बल्झिन सक्छ । पटकाको तीव्र आवाजले कान दुख्ने, रिंगटा लाग्ने, कानबाट रगत आउने जस्ता समस्या देखिनुका साथै श्रवणशक्ति नै गुम्न सक्छ ।