काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको डीएनए परीक्षण गर्नुपर्ने माग गरेका छन् । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा सानेपामा भएको कार्यक्रममा उनले यस्तो माग गरेका हुन् । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा प्रतीक थापाको संलग्नताको आशंका गरिएको कुरा आइरहेको भन्दै बस्नेतले डीएनए परीक्षणको माग गरेका हुन् ।
“गृहमन्त्रीज्यू, निर्मला केसमा तपाईँका छोराको नाम मुछिएको छ,” बस्नेतले भने, “डीएनए परीक्षण गरेर सत्य तथ्य जानकारी गराइयोस् ।” बस्नेतले यसअघि पनि प्रतीक थापाको डीएनए परीक्षणको माग गर्दै आएका थिए । उनले तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई संगठनबाट कारबाही भइरहेकाले कारबाहीमा परेका महासचिवले अर्को चियापान समारोह आयोजना गर्नु हास्यास्पद भएको बताए ।