पदमराज जोशी संयोजक बृहत गोदावरीधाम व्यवस्थापन समिती १) गौरा के हो ? हिन्दु नारीहरु द्धारा आफ्नो सु–सौभाग्य,सुख र सम्बृद्धिका लागि गरिने नारीजन्य एक अनुष्ठान हो । यो पर्व पुरापुर्वबाट नै मनाउँदै आएको छ । गौरामा विशेष गरेर महिलाहरु व्रत बस्ने गर्दछन् । नारीहरुले आफ्नो स्व–अस्तित्व आफै राखेको सन्र्दभमा गौरालाई मनाउने परम्परा रही आएको छ । गौरा विशेष गरेर शिव पार्वतीको उपाशना गर्नको लागि मनाउने गरिन्छ । यो भाद्र पञ्चमीको दिनबाट शुभारम्भ हुने गर्दछ । पाँच प्रकारका विभिन्न अन्नहरु मिसाएर बिरुडा भिजाउने प्रचलन रहेको छ । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणँहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्रह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो । यो पर्वमा देउडा र धमारी खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । २) गौरा पर्व कुन कुन ठाउँमा मनाईन्छ ? गौरा पर्व सुदूरपश्चिमको डोटी,दार्चुला,बैतडी,अछाम,बाजुरा र बझाङका केहि ठाउँहरुमा मनाईन्छ भने कर्णाली अञ्चलमा र भारतको कुमाउँ गडवालमा पनि यो पर्व मनाउने गरेको पाईन्छ । ३) गौराको महत्व तथा विशेषता के हो ? गौरापर्वले एक अर्कामा भाईचाराको सम्बन्धसेतु कायम गर्छ । गौरा पर्व सुख,शान्ती र सम्बृद्धिको प्रतिक हो । यसले सबैमा समान हैसियतको प्रतिष्ठान कायम गर्छ । यस पर्व कोही सानो कोही ठुलो भन्ने भावना हुदैन । गौरा भनेको लोक हो, लोकमा को ठुलो, को सानो भन्ने हुदैन । गौरा पर्व हाम्रो जातिय तथा साँस्कृतिक पहिचान पनि हो । (४) नव युवायुवतीहरुमा आफ्नो सँस्कृति जगेर्ना गर्नमा कस्तो भूमिका देख्नु हुन्छ ? अब हाम्रा युवाहरु बुझ्दै छन् । यो भन्दा अगाडि युवाहरुलाई आफ्नो सँस्कृति सम्बन्धि ब्याख्या र बिश्लेषणको अभाव थियो तर पछिल्लो समयमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भईरहेका छन् । पछिल्लो समयमा युवाहरुको उल्लेख्य सहभागिता रहदै आएको छ । पुर्खाको सँस्कृति,परम्परालाई नयाँ पिँढीमा हस्तारण गर्नकोलागि पनि यो पर्व मनाइने गरिन्छ । एउटा अविवाहित महिलालाई विवाह गरेर घरमा ल्याई सकेपछि उसलाई गौराको पुजा गराईन्छ । यो पनि एक सँस्कृति हस्तान्तरण गर्ने प्रक्रिया हो । ५) अन्त्यमा गौरापर्व मनाईरहेका आम सुदूरपश्चिमवासीहरुलाई के भन्न चाहानुहुन्छ ? सुदूरपश्चिममा पनि धेरै साहित्यिक तथा साँस्कृतिक सँस्थाहरु छन्, ति सँस्थाहरुले पनि आफ्नो सँस्कृति बचाउन तथा नयाँ पिँढीमा सँस्कृति हस्तान्तरण गर्न विभिन्न कार्यक्रमहरु गर्नुपर्ने देखिन्छ । पछिल्लो समयमा गितहरुमा पनि माया प्रेम तथा अश्लिल दर्शाउने चिज तथा सामग्रीहरु सम्प्रेषण गर्ने गरेको पाईन्छ । यस्तो नभएर आफ्नो सँस्कृति बचाउन सबैले आ–आफ्नो ठाउँवाट कदम चाल्न आवश्यक छ । प्रस्तुती सन्तोष रोकाया