पुरुषलाई ‘हजुर’, महिलालाई ‘तँ’ ?
दुई-दुईपटक संविधानसभा सदस्य रहेकी र पछिल्लो संसदीय निर्वाचनमा संघीय संसद्को सदस्यसमेत रहेकी एक माननीय आफ्नो श्रीमान्लाई ‘आइस्यो, गइस्यो’ मार्काको भाषा प्रयोग गर्छिन् । तर, उनका श्रीमान् भने उनलाई ‘तिमी’ र ‘तँ’ भन्छन् । त्यो कुराले न ती माननीय महिलालाई फरक पर्छ, न हामी श्रोतालाई ।
श्रीमान् नेपाल सरकारका शाखा अधिकृत, श्रीमती नेपाल सरकारको उपसचिव । श्रीमतीले श्रीमान्लाई ‘तपाईं, हजुर’ छुटाउँदिनन् । श्रीमान्ले भने ‘तिमी’ र ‘तँ’ नै भन्छन् । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)ले आफ्नी प्रहरी उपरीक्षक (एपी) श्रीमतीलाई ‘तिमी’ सम्बोधन गर्छन् भने श्रीमतीले ‘बक्स्योस्’ ।
अन्तर्जातीय प्रेमविवाह गरेको जोडी । श्रीमती मगर, श्रीमान् ठकुरी । विवाह हुनुभन्दा अगाडि दुवैले एक अर्कालाई गर्ने सम्बोधन समान थियो, ‘तिमी, तँ’ । विवाहपश्चात् एकाएक श्रीमतीले सम्बोधनको पूरै इन्जिनियरिङ फेर्नुपर्ने भयो । अब उनले श्रीमान्लाई पहिलाजस्तो नामले बोलाउन नपाउने भइन् । नामको सट्टा ‘राजा’ र प्रेमले बोलाउने ‘आऊ, खाऊ’को सट्टा ‘आइबक्स्योस्, खाइबक्स्योस्’ भन्नुपर्ने भयो । यस्तो सम्बोधन दोहोरो थिएन । श्रीमान्लाई जहाँसुकै पनि पुरानै भाषा प्रयोग गर्ने छुट थियो । यस्तो अवस्थाले न त श्रीमान्लाई असर ग¥यो न त श्रीमतीलाई नै । बरु श्रीमतीले आफ्नो कोठामा श्रीमान्सँग एक्लै भएका वेलामा ‘तिमी, तँ’ भनिन् र बाहिर निस्केपछि ‘बक्स्योस्’ ।
०००
यी माथिका उदाहरण हाम्रो समाजका प्रतिनिधि दृश्य मात्र हुन् । अपवादबाहेक सबैजसो घरमा श्रीमान्÷श्रीमतीबीचको सम्बोधनको भाष्यमा शताब्दीयौँदेखि असमान तहले निरन्तरता पाइरहेको छ । हामीकहाँ श्रीमान्ले श्रीमतीलाई गर्ने सम्बोधन जति तल्लोस्तरको भए पनि श्रीमतीले श्रीमान्लाई गर्ने सम्बोधन भने उच्च र अति आदरार्थी नै हुनुपर्छ । सामाजिक हैसियत बराबर या श्रीमान्को भन्दा श्रीमतीकै माथिल्लो तह भए पनि श्रीमान्ले श्रीमतीलाई होच्याउने प्रवृत्ति, तुच्छ सम्बोधन, ‘मभन्दा माथिल्लो तहमा भए पनि उसले मैले जति बुझेकी छैन’ भन्ने अहम्ले समग्र भाष्यमाथि आधिपत्य जमाइरहेको छ ।
सामान्यतयाः बोलीचालीमा सम्मानित भाषा प्रयोग गर्ने विषय हुर्काइको संस्कृति र सभ्यतासँग जोडिएको हुन्छ । समाजको संरचना जस्तो हुन्छ व्यक्तिको चरित्र पनि त्यहीअनुरूप निर्माण हुन्छ ।
सोहीअनुरूप समाजमा महिलाको अस्तित्वको सामाजिक स्वीकार्यता कति छ भनेर मापन गर्ने केही सामाजिक व्यवहार र भाषागत सूचक छन् । ती सूचकमध्ये पुरुषले महिलालाई गर्ने सम्बोधन पनि एउटा हो । यद्यपि, त्यो सूचकको उत्पादनकर्ता भने पुलिंगी सत्ता नै हो ।
सम्बोधनको भाष्य र समाजको चरित्रः
नेपाली समाज संरचनागत हिसाबले पूर्णतया पितृसत्तात्मक छ । स्वाभाविक रूपले पुरुषद्वारा निर्मित र सञ्चालित सामाजिक सत्ताको भाषा र संस्कृति पनि सोहीअनुरूप हुने नै भयो । फलस्वरूप समाजमा महिलाको हैसियत पुरुष लिखित आख्यानका पात्रको भन्दा फरक छैन । उसले चाहे बलशाली बनाउँछ र उसकै इच्छामा खलपात्र पनि । भाषा र संस्कृतिको सन्दर्भमा त एकलौटी साम्राज्य नै खडा गरिएको छ । सबै राम्रा, नराम्रा, कडा, नरम, उच्च, कनिष्ठ, पुलिंगी, स्त्रीलिंगी, आदरार्थी, अनादरार्थीजस्ता शब्दको वर्गीकरण त्यही सत्ताकै एक अंश हुन् ।
सम्बोधनमा कतिपय ‘हाइरार्की’ सामान्य लाग्छन् । जस्तैः सन्तान र आमाबाबु, दिदीबहिनी र दाजुभाइबीचको हाइरार्की । तर, श्रीमान्÷श्रीमती र मित्रबीचको सम्बन्ध मात्र यस्तो सम्बन्ध हो जुन समानताको सिद्धान्तमा आधारित हुन्छ । यस्तो सहसम्बन्ध हुने श्रीमान्÷श्रीमतीको नातामा समेत हरेक क्रियाकलापमा श्रीमान् हाबी हुनु भनेको महिलाको कानुनी अस्तित्व मात्र हुनु हो । स्मरण रहोस् सम्मानित सामाजिक अस्तित्वविनाको कानुनी अस्तित्व ‘रोबोट सोफिया’ले साउदी अरबको नागरिकता प्राप्त गरेको भन्दा फरक हुन सक्दैन ।
खासमा तँ, तिमी, तपाईं, हजुरजस्ता सम्बोधन केवल शब्द मात्र होइनन् । ती हाम्रो वैयक्तिक, सामाजिक चिन्तन र व्यवहारका प्रतिबिम्ब हुन् ।
जसरी समाजले महिलाको ‘लैंगिक’ हैसियत निर्माण ग¥यो ठीक त्यसैगरी ‘महिलाद्वारा’ र ‘महिलाका लागि’ छुट्टै भाष्य पनि निर्माण गरिदियो । यदि कुनै महिलाले आफ्नो श्रीमान्लाई आफूलाई श्रीमान्ले गर्नेजस्तै सम्बोधन गरिन् भने ती महिलालाई सामान्य रूपमा हेरिँदैन । त्यस्ता महिलालाई श्रीमान्लाई ‘हेप्ने’, ‘ठालु पल्टिने’, ‘मै हुँ ठान्ने’जस्ता उपमा दिइन्छ ।
श्रीमान्ले श्रीमतीलाई गर्ने सम्बोधन घरमा जे हुन्छ घरबाहिर पनि त्यही हुन्छ । अर्थात् श्रीमतीको नाम लिएर ‘तँ, तिमी’ बोलाइन्छ । मानौँ श्रीमती हुनु भनेकै ‘तँ, तिमी’भन्दा माथिल्लो सम्बोधनको लायक नहुनु हो ।
त्यसको रिभर्समा हेरौँ । अलि–अलि महिलाप्रति सकारात्मक, तर पूर्ण रूपमा सहअस्तित्व स्वीकार नगरिसकेका श्रीमान् रहेछन् भने र यदि कुनै श्रीमतीले घरमा श्रीमान्लाई ‘तिमी’ सम्म भन्ने रहेछन् भने पनि घरबाहिर वा सार्वजनिक स्थानहरूमा वा श्रीमान्बाहेक अर्को जोसुकै तेस्रो व्यक्ति भएको स्थानमा (चाहे ती छोराछोरी नै किन नहोऊन्) ‘तिमी’ सम्बोधन गर्दिनन् । मानौँ श्रीमान् हुनु भनेकै ‘तपाईं, हजुर’बाहेक तल्लो सम्बोधन गर्न नहुने पद हो । कतिपय घरमा त्यही पुरुष कोठाभित्र श्रीमतीले ‘तँ, तिमी’ भन्दा ‘इन्जोय’ गर्छ । तर, कोठाबाट बाहिर निस्कनासाथ तुरुन्तै श्रीमतीले सम्बोधन परिवर्तन गरिहाल्नुपर्छ । यदि कहिलेकाहीँ कोठाभित्र गर्ने सम्बोधन भुलवस कोठाबाहिर बाबु, आमा, आफन्त वा साथीभाइका अगाडि फुत्कियो भने श्रीमान्ले हान्ने गोरुका जस्ता आँखा बनाएर हेरिदिन्छन् । त्योभन्दा दुःखद त त्यतिवेला लाग्छ जब श्रीमान्को उक्त हिरोपन्थीविरुद्ध प्रतिक्रिया दिनुको सट्टा श्रीमतीले यस्तो ‘गिल्ट’ महसुस गर्छिन् जस्तो कि उनले कुनै ठूलै घटना घटाइन् । यो अपवादबाहेक प्रायः हरेक परिवार र पुरुषसँग ठोक्किने विषय हो । अझ माथिल्लो पदीय हैसियत भएका र उच्च घरानामा यो समस्या तुलनात्मक रूपमा बढी छ ।
दोस्रो अचम्मको कुरा के छ भने जब श्रीमान्÷श्रीमतीबीचको सम्बोधनमा किन समानता हुँदैन ? भनेर प्रश्न गरियो भने धेरैले फटाफट दिने तैयारी जवाफ छ, ‘किनकि श्रीमान्÷श्रीमतीभन्दा उमेरमा पनि सिनियर नै हुन्छ नि त ।’ तर, यो जवाफ आफैँमा त्रुटिपूर्ण छ ।
पहिलो, विवाह गर्दा पुरुष उमेर र सामाजिक हैसियतमा जेठो र महिलाभन्दा माथिल्लोस्तरको हुनुपर्ने सामाजिक धारणा नै ‘श्रीमान् सत्ता’को ‘बाइप्रोडक्ट’ हो ।
दोस्रो, सामाजिक दायित्व निर्वाह गर्दा, घर–व्यवहार चलाउँदा, सन्तान उत्पादन प्रक्रियामा भाग लिँदा सिनियर र जुनियर हिसाब–किताब गर्नु नपर्ने । तर, सम्बोधन गर्ने वेलामा भने श्रीमान् सधैँ सिनियर हुनुपर्ने ?
केही समयका लागि मानौँ सिनियर भएकाले श्रीमान्लाई आदरार्थी सम्बोधन गरियो । तर, यदि श्रीमती अलि बढी उमेरको भएको अवस्थामा के श्रीमान्ले श्रीमतीलाई त्यस्तै आदरार्थी सम्बोधन गर्ने प्रचलन छ त ? अवश्य छैन । आफूभन्दा बढी उमेरको श्रीमती भए पनि सम्बोधन ‘तँ, तिमी’ नै हुने गरेको छ ।
व्यक्तिगत जीवनमा मात्र होइन, व्यावसायिक जीवनमा समेत महिलालाई गरिने सम्बोधन व्यावसायिक मर्यादाअनुरूप हुने गरेको छैन । कार्यालयमा कुनै पुरुष कर्मचारी छ भने उसलाई ‘सर, जी, हजुर, तपाईं’ भन्ने गरिन्छ । चाहे ऊ जुनसुकै उमेर या पदको किन नहोस् । तर, महिला कर्मचारीलाई भने ‘बहिनी, तिमी’ सम्बोधन गरिन्छ । व्यक्तिगत र नजिकको सम्बन्ध भएकाले त्यसरी सम्बोधन गर्ने विषय सामान्य मान्न सकिन्छ । तर, कार्यालय हाताभित्रै, फोन या इन्टरनेटमा पहिलोपटक कुरा भएको रहेछ भने पनि सीधै ‘बहिनी, तिमी’ सम्बोधन गर्नु विभेदकै एउटा रूप हो ।
हिजो महिलाको स्वतन्त्र अस्तित्व नै स्वीकार गरिएको थिएन । न कानुनी रूपमा, न सामाजिक र राजनीतिक रूपमा । तर, आज समय फेरिएको छ । कम्तीमा कानुनी रूपमा (पूर्ण रूपमा होइन) महिलाको स्वतन्त्र अस्तित्वलाई केही मात्रामा स्थापित गरिएको छ । तर, पढेलेखेका सक्षम महिलासमेत ‘स्वअस्तित्व’प्रति संवेदनशील नहुनुमा समग्र दोष पुलिंगी सत्ता र त्यसले नियन्त्रण गरेको सामाजिक संरचनाकै भए पनि ‘यस्तो सामाजिक संरचनाका कारण नै महिलालाई द्वितीयक बनाइएको हो’ भन्ने बुझेका महिला पनि कम दोषी छैनन् । पितृसत्तात्मक सामाजिक व्यवहारको सिकार भएकै कारण अझै पनि विद्यालय, विश्वविद्यालय र सत्ताको पहुँचभन्दा कोसौँ टाढा रहेका महिला यो सवालको जिम्मेबार कदापि हुन सक्दैनन् । तर, उच्च शिक्षा हासिल गरेका, आर्थिक रूपमा आत्मनिर्भर मात्र होइन सिंगो परिवार धान्न सक्ने, राजनीतिक रूपमा नीति–निर्माणमा भूमिका खेलेका÷खेल्न सक्ने, अन्तर्राष्ट्रियस्तरमा नेतृत्व गर्न सक्ने सशक्त महिला पनि पुरुषको अधिनायकत्वभन्दा एक सेन्टिमिटर पर स्वअस्तित्व र समअस्तित्व बोध गर्न र जीवन व्यवहारमा लागू गर्न नसक्नु वा नखोज्नु सबैभन्दा दुःखद हो ।
नेपाली समाजमा सम्बोधनको आधार उमेर, पेसागत ओहोदा या आर्थिक उत्पादन सम्बन्धले मात्र निर्धारण गर्ने गरेको छैन । यसको मुख्य कारक ‘श्रीमान् सत्ता’ र त्यसकै जगमा फैलाइएको सामाजिक संरचना नै हो ।
सम्बोधन र विभेद
सामाजिक संरचनाको प्रतिबिम्बकै रूपमा भाषामा पनि वर्गीय चरित्र जोडिएको हुन्छ । त्यही भाषाको एउटा अंश ‘सम्बोधन’को सन्दर्भमा त्योभन्दा फरक अपेक्षा गर्न सकिँदैन । परिणाम, महिला, दलित र तल्लो वर्गका लागि कनिष्ठ सम्बोधन अर्थात् ‘तँ’, ‘तिमी’ । पुरुष, उच्च जात र माथिल्लो वर्गका लागि विशिष्ट सम्बोधन अर्थात् ‘तपाईं’, ‘हजुर’, ‘बक्स्योस्’ ।
हामीकहाँ भाषागत हिसाबले अत्यन्तै ठूलो विभेद छ । लैंगिक मात्र होइन, जातीय र क्षेत्रीय विभेद उत्तिकै डरलाग्दो छ । कथित माथिल्लो जात भनिनेहरूले दलितलाई गर्ने व्यवहारसँगै भाषा पनि क्षुद्र छ । अझै पनि अधिकांश समाजमा दलितले ‘विष्ट, हजुर’ शब्द प्रयोग गरिन्छ भने दलितलाई ‘दमाईं साहिँला, कमिनी कान्छी’जस्ता शब्द प्रयोग गरिन्छ । यसबाट उनीहरूलाई आफ्नो पहिचानबाट त वञ्चित गरिएको छ नै, अति सूक्ष्म सामाजिक षड्यन्त्रमार्फत आफ्नो समुदायप्रति ‘तुक्ष्छ’ अनुभूति गर्न बाध्य तुल्याइएको छ । आजकाल कानुनको डरले कतिपय स्थानमा प्रत्यक्ष रूपमा छोइछिटो नगरे पनि मनोवैज्ञानिक रूपमा ‘यिनीहरू दलित न हुन्’ भन्ने निकृष्ठ सोचमा पटक्कै परिवर्तन आएको छैन । जसका कारण उच्च जात भनिएकाहरू दलितलाई सम्बोधन गर्दा विनाहिच्किचाहट ‘तँ, तिमी’ सम्बोधन गर्छन् । सार्वजनिक स्थान र अपवादबाहेक सामान्यतया उच्च र आदरार्थी सम्बोधन गरेको सुनिँदैन ।
क्षेत्रीय कोणबाट हेर्दा पनि हामीले बोल्ने भाषा र सम्बोधनमा ठूलो फासला देखिन्छ । पहाडी र त्यसमा पनि बाहुन, क्षेत्री समुदायले मधेसी समुदायलाई गर्ने सम्बोधन अत्यन्तै असभ्य छ । पहाडिया राष्ट्रवादको प्रतिबिम्ब सम्बोधनमा प्रस्ट सुनिन्छ । मधेसी समुदायको कुनै पनि व्यक्तिलाई यति नमीठो गरी ‘धोती, ओ भैया !’ भनेर बोलाइन्छ कि मानौँ मधेसीलाई जुनसुकै शब्द प्रयोग गर्न पाउनु पहाडियाको नैसर्गिक अधिकार हो । चाहे पढेलेखेका होऊन् या कम पढेलेखेका, सामान्यतया ‘मधेसी’ भन्ने शब्दलाई बंग्याएर गाली गर्ने शब्द जसरी ‘मदिसे’ उच्चारण गरी क्षेत्रीय दादागिरी प्रदर्शन गरिन्छ । मधेसबाहेक देशका सबै स्थानमा ‘मदिसे’ शब्द यति सामान्य रूपमा प्रयोग गरिन्छ जस्तो कि सही उच्चारण नै ‘मधेसी’ होइन ‘मदिसे’ हो । अधिकांश पहाडियाले मधेसी समुदायलाई प्रायशः ‘तपाईं’ नभई ‘तिमी’ सम्बोधन गर्छन् । यदि कुनै मधेसीले पहाडियालाई ‘तिमी’ सम्बोधन गरे भने साम्प्रदायिक दंगा नै खडा गरिन्छ ।
खासमा तँ, तिमी, तपाईं, हजुरजस्ता सम्बोधन केवल शब्द मात्र होइनन् । ती हाम्रो वैयक्तिक, सामाजिक चिन्तन र व्यवहारका प्रतिबिम्ब हुन् । व्यक्तिगत रूपमा हाम्रो कुनै लिंग, जाति, समुदाय र समग्र मानव जातिप्रतिको सोचाइ, बुझाइ र समझ सम्बोधनमा झल्किन्छ । त्यसैले, झट्ट हेर्दा सम्बोधन व्यक्तिको चिन्तनशैली र आचरणमा निर्भर गर्ने विषयजस्तो देखिए पनि यो वैयक्तिक सवाल मात्र भने कदापि होइन । यो त राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक रूपमा एक–अर्कासँग अन्तर्सम्बन्धित र सामूहिक अवधारणाको प्रस्फुटन हो ।
श्रीमान्ले श्रीमतीलाई, कथित माथिल्लो जातले दलितलाई, पहाडीले मधेसीलाई, धनीले गरिबलाई गर्ने तुच्छ कोटीका सम्बोधनको विरुद्धमा एक शब्द पनि खर्च नगरिनु र यसलाई अति सामान्य रूपमा लिइनुले समाजमा विभेद कति माथिल्लो स्तरसम्म उठेको छ भन्ने प्रस्ट हुन्छ । त्यतिमात्र होइन, यो समाजमा फरक लिंग, जाति, समुदाय र वर्गको स्वाभिमान र आत्मसम्मानमाथिको खुला आक्रमण पनि हो ।
चीनका दार्शनिक कन्फ्युसियसको भनाइ छ, ‘तिमीले त्यस्तो व्यवहार अरूसँग नगर जुन व्यवहार अरूले तिमीसँग गर्दा तिमी आफूलाई मन पर्दैन ।’ यदि आफूलाई अरूले सम्मान गरेको राम्रो लाग्छ भने, यदि कसैले हेयको भाषा प्रयोग गर्दा मन र मस्तिष्क उद्वेलित हुन्छ भने स्वाभाविक रूपमा अर्को मान्छेलाई पनि हामीले सम्मानित सम्बोधन गर्नु पर्दैन ? र, यदि गरिँदैन भने त्यो विभेद नै हो ।