फु.ख.संवाददाता भाद्र ०६, फुलबारी / धनगढी उपमहानगरपालिका वडा नम्बर १८ एफगाँउमा श्रावण तेश्रो साता देखि प्रत्येक दिन साँझ चितुवा आउने गरेको छ । एफगाँउ नजिक पर्ने गौमती सामुदायिक वनमा बस्ने चितुवा प्रत्येक दिन एफगाँउ बासीहरुको घरघरमा गई सताउने गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष मुरारी अधिकारीले वडाका विभिन्न घरबाट ७ बटा बाख्रा लगिसकेको बताए । ‘चितुवा बाघ गोठमा आएर बाख्रालाई लिने गरेको छ’ अध्यक्ष अधिकारीले भने ‘कहिलेकाँही त चितुवा र मान्छे बिच पनि बाख्राको तानातान हुने गरेको छ ।’ वडाध्यक्ष अधिकारीले यसको व्यवस्थापनका लागी जिल्लाका सम्बन्धित निकायलाई जानकारी गरिसकेको बताए । चितुवाले पटकपटक बाख्रा खाईरहदाँ फुलवारी क्षेत्रका जनतामा त्रसित भएका छन् ।