कैलाली १ असोज, नेपालको संविधान २०७२ जारी भएको दिनलाई नेपालीहरुको गौरबको रुपमा मनाउन आग्रह गर्दै सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष संविधान दिवसको अवसरमा घर–घरमा दिपावली गर्न आह्वान गरेको छ ।
बुधबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिईएको हो ।
प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालय र आम नागरिकको घरमा सरसफाई सहित दिपावली गर्न आह्वान गरेको हो ।
सरकारले असोज २ गते सबै मन्त्रालय, निकाय, सरकारी कार्यालयले आ–आफ्नो स्थानमा राष्ट्रिय झण्डा एवं व्यानर सजाएर नगरको श्रृंगार र सरसफाई गर्ने, सबै कार्यालय र आम नागरिकको घरघरमा सरसफाई र दिपावली गर्ने तथा प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुद कार्यक्रम आयोजना गर्ने भएको छ ।
असोज ३ गते बिहान ७ बजे ट्राफिक चौराहबाट धनगढी रंगशाला सम्म झाँकी सहित प्रभातफेरी गर्ने तथा असोज ४ गते सबै कार्यालय हाताभित्र वृक्षारोपण गर्ने र गोदावरीमा पनि वृक्षारोपण गरिने भएको छ । यी सबै कार्यको सहजीकरणका लागि मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस सुदूरपश्चिम प्रदेश मूल समारोह समिति गठन गरिएको छ भने चार वटा उपसमिति पनि गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रदेश सचिव अर्जुन प्रसाद पोख्रेलले जानकारी दिए ।
मुख्यमन्त्री कार्यालयका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको अध्यक्षतामा मञ्च व्यवस्थापन उपसमिति, सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा प्रभातफेरी एवं झाँक्री व्यवस्थापन उपसमिति, मुख्यमन्त्री कार्यालययका सचिवको अध्यक्षतामा प्रचारप्रसार उपसमिति र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा फलफूल तथा वृक्षारोपण उपसमिति गठन गरिएको छ ।