काठमाडौं : दुबईमा आइतबार सम्पन्न दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजअन्तर्गत यू-१९ स्पर्धामा स्वर्णपदक जितेका नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल सोमबार स्वदेश फर्किएका छन् । प्रिन्सलाई सोमबार दिउँसो नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायत संघका पदाधिकारीले त्रिभुवन विमानस्थलमै पुगेर भव्य स्वागत गरेका थिए ।
आइतबार भएको फाइनलमा प्रिन्सले प्रतियोगिताकै माथिल्लो वरीयताका भारतीय खेलाडी वरुण कपुरलाई २-० को सोझो सेटमा हराउँदै स्वर्ण जितेमा थिए । वरुण विश्वकै नवौं वरीयताका खेलाडी हुन् । प्रिन्सले वरुणलाई २१-१९, २१-१९ को सेटमा स्तब्ध बनाएका थिए । गत वर्ष पनि प्रिन्सले यू-१५ स्पर्धाको उपाधि जितेका थिए । राम्रो खेलाडीलाई हराएर उपाधि जित्न पाउँदा निकै खुसी लागेको छ । भविष्यमा अझ मेहनत गर्दै नेपालका लागि अझै ठूला उपाधि जित्नेछु, प्रिन्सले भने ।
संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रिन्सको उपाधि नेपाली ब्याडमिन्टनकै ऐतिहासिक उपलब्धि भएको बताए । ‘प्रिन्स नेपाली ब्याडमिन्टनमा क्षमतावान् खेलाडी हुन् । विश्वकै राम्रो वरीयतामा रहेको भारतीय खेलाडीलाई सोझो सेटमा हराउनु ठूलो कुरा हो ।
राम्रो मौका दिन सकियो भने प्रिन्सले नेपालको ब्याडमिन्टनमा धेरै राम्रो गर्न सक्नेछ,’ श्रेष्ठले भने । प्रिन्सले यस प्रतियोगितामा सानिया चन्दसँग मिलेर मिक्स डबल्समा पनि रजत पदक जितेका थिए । उनले यू-१९ डबल्सलै नवहान नजिवसँग मिलेर रजतपदक जितेका छन् ।