धनगढी, २९ भदौ ।
नेपाल कम्युनिष्ट पार्टीले सुदूरपश्चिमका सबै स्थानीय तह र वडा तहमा एकीकरण प्रकृया टुंग्याएको छ । प्रदेशका ८८ वटा स्थानीय तहमध्ये पूर्वएमालेबाट ५० तहमा अध्यक्ष र पूर्वमाओवादीबाट ३८ तहमा अध्यक्ष भएका छन् ।
उपमहानगर, नगर र गाउँपालिकामा पूर्वएमालेबाट अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीबाट सचिव र पूर्वमाओवादीबाट अध्यक्ष भएको ठाउँमा पूर्वएमालेबाट सचिव रहने गरी भागवण्डा गरिएको हो । कैलालीमा ७ तह पूर्वएमाले र ६ तह पूर्वमाओवादी, कञ्चनपुरमा ५ तह पूर्वएमाले र ४ तहमा पूर्वमाओवादी तथा डडेल्धुरामा ४ तहमा पूर्वएमाले र ३ तहमा पूर्वमाओवादीले नेतृत्व पाएका छन् ।
यस्तै बाजुराका ९ तहमध्ये ६ मा पूर्वएमाले र ३ मा पूर्वमाओवादीबाट अध्यक्ष बनाइएको प्रदेश कमिटीका एक पदाधिकारीले जानकारी दिए । अछाममा ६ तहमा पूर्वएमाले र ४ तहमा पूर्वमाओवादी तथा डोटीमा ५ तहमा पूर्वएमाले र ४ तहमा पूर्वमाओवादीबाट अध्यक्ष भएका छन् ।
बैतडीका १० तहमध्ये ५ पूर्वएमाले र ५ पूर्वमाओवादी तथा दार्चुलाका ९ तहमध्ये ५ मा पूर्वएमाले र ४ मा पूर्वमाओवादीबाट अध्यक्ष बनाइएको छ । सबैभन्दा ठूलो उपमहानगरमा एक सय एक सदस्यीय कमिटी गठन गरिएको छ ।
स्थानीय तहमा गठन भएका कमिटीका सबै पदाधिकारीको नाम नेकपा प्रदेश कमिटीले शनिबार सार्वजनिक गरेको छ । नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले जिल्ला कमिटी, टोल, शाखा र सेल कमिटीको कार्यालयमा रहने व्यक्तिको संख्या तथा मापदण्डसमेत प्रदेश कमिटी बैठकले तय गरेको जानकारी दिए ।
सर्वसम्मत रुपमा कमिटी गठन गरिएको उनले बताए । प्रदेशमा पार्टीको एकीकरण प्रकृया टुङ्गीएपछि कार्यकर्तामा उत्साह छाएको रावलले बताए । ‘सर्वसहमतिका साथ एकीकरण टुंग्याएका छौं । यसले पार्टी पंक्तिमा उत्साह सिर्जना गरेको छ ।’ नेता रावलले भने, ‘अब जनतामाझ गएर पार्टीलाई थप सुदृढीकरण गर्छौँ ।’