काठमाडौं : प्रदेश १ उच्च अदालत बिराटनगरमा इटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । इटहरी उपमहानगरपालिका र मेयर चौधरीलाई विपक्षी बनाई दायर भएको निवेदनमा हदैसम्मको कारबाहीको माग गरिएको छ ।
मेयर चौधरीले गत भदौ २६ गते उच्च अदालत विराटनगरले गरेको आदेशपत्र च्यातेका थिए । सोही विषयलाई लिएर आईतबार कमला चौलागाईं, दुर्गा कुमारी प्रसाईं र खडानन्द आचार्यले अदालतको अवहेलना गरेको भन्दै इटहरीका मेयर चौधरीलाई कारबाहीको माग गर्दै मुद्दा दायर गरेका हुन् ।
निवेदकहरुको आफ्नो निजी जग्गामा जथाभाबी ड्रेन र कल्भर्ट खन्ने काम भएकोले सो कार्य रोक्नको लागि अदालतले अन्तरीम आदेश दिएको थियो । सो आदेश बुझाउन गएका निवेदकहरुकै हातबाट खोसेर उनले आदेशपत्र च्यातेका थिए । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी हवल्दार पर्शुनारायण सिंह लगायतकै अगाडि उनले सो पत्र च्यातेका थिए ।
आदेशपत्र च्यातेर अदालतको अवहेलना गरेको साथै सरकारी खर्चमा जथाभाबी निजी जग्गा खनेको भन्दै अदालतमा निवेदन दिएको निवेदकहरुले बताए ।
मेयर चौधरीको काम पर्यावरणीय र प्रशासनिक रुपमा पनि ठीक नभएको उनीहरुको ठहर छ । मेयरको काम ’स्थानीय सरकार कार्य सञ्चालन ऐन २०७४’ विपरीत काम भएको भन्दै हदैसम्मको कारबाहीको माग गरिएको हो ।
कल्भर्ट वा बाटो बनाउने योजनाको फाइल माग्दा मेयर चौधरीले ‘किन चाहियो’ भन्दै हप्काउने गरेको निवेदनमा उल्लेख गरिएको छ । साथै उनले आफ्नो अनुमतिबिना कुनैपनि कागजात नदिन निर्देशन दिएको निवेदनमा उल्लेख छ ।
मेयर चौधरीले फाइल नक्सा अध्ययन नगरी हचुवाको भरमा कल्भर्ट बनाउने काम गरेको निवेदकको भनाइ छ । व्यक्तिगत रिसइबी साँध्नको लागि मेयर चौधरीले बदनीयतपूर्ण काम गरेको निवेदनमा उल्लेख गरिएको छ ।