बीपीको जन्मजयन्तीको अवसरमा तपाईँलाई भन्दैछु – दाइ जय नेपाल ! म पनि ‘दाइ’ संस्कृतिबाटै आएकाले यही शब्दले सम्बोधन गरेँ । अन्यथा नलिनुहोला ।
म अलमल, आग्रह र पूर्वाग्रहविना सीधै विषय प्रवेश गर्न चाहन्छु । तपाइँ नेपाली कांग्रेस पार्टीको सभापति हुनुहुन्छ । यो पार्टीसँग हिङ त छैन तर बीपीले ठूला दुःख र जतनले हिङ बाँधेको टालो दिएर गएका छन् । त्यो बाँधेको टालो पनि तपाईँकै कारण च्यातिने र धुजाधुजा हुने क्रममा छ । त्यसबाट हिङको गन्ध निस्कनु त कता कता सामन्ती फोहोरको दुर्गन्ध आइरहेको छ । हाल तपाईँले नेतृत्व गरेको त्यो पार्टीको ओज र गरिमा नेपालीको मन मस्तिष्कमा अझै बसेको छ । त्यतिमात्र होइन राणा शासन र पञ्चायती व्यवस्थाको अन्त्य र जंगलमा राज गरेकाहरुलाई शान्ति प्रक्रियामार्फत राजनीतिको मूलधारमा ल्याएको इतिहास पनि छ । तर, वर्तमान त्यस्तो गरिमा र गर्व गर्न लायक छैन र यसको मूल जड पनि तपाईँ नै हो ।
तपाईँले देशमा प्रजातन्त्र प्राप्तिका लागि गर्नुभएको संघर्ष र त्याग अहिलेको पुस्ताका लागि नौलो लाग्नसक्छ । गणेशमान जी, किसुनजी र गिरिजा बाबुको अवसानपछि पनि तपाईँको पुस्ताले प्रजातन्त्रको धिपधिपे उज्यालोलाई यहाँसम्म ल्याइपुर्याउनुभएको छ । यसका लागि तपाईँहरुलाई धन्यवाद दिनैपर्छ । पार्टीभित्र तपाईँजस्ता संघर्षशील र प्रजातन्त्र प्राप्तिका खातिर योगदान पुर्याउनुभएका थुप्रै जना अहिले नेतृत्व तहमा हुनुहुन्छ । र, तपाईँ त सभापति नै हुनुभएको छ । तर, त्यसो भन्दैमा सधैँ तपाईमात्रै सभापतिको कुर्सीमा बस्नुपर्छ भन्नु त तर्कसंगत हुँदैन ।
सभापति पार्टीको नेता हो । नेताले पार्टीलाई नेतृत्व दिन सक्नुपर्छ । पार्टीलाई कस्तै परिस्थितिमा पनि यसका गरिमा र मूल्यबाट च्युत हुनबाट बचाउनुपर्छ । पार्टीका नीति र कार्यक्रम जनताका बीचमा पुर्याउनुपर्छ । भ्रातृ संगठनको गठन र सञ्चालन एवं पार्टीलाई चुस्त दुरुस्त, चलायमान र गतिमान बनाउनुपर्छ । यसमा आएका र आउनसक्ने संभावित परिणतिको आकलन गरी सोहीअनुरुपको नीति तथा कार्यक्रमको परिचालन गर्नु तपाईँको पहिलो कर्तव्य र जिम्मेवारी हो । तर, तपाईँको काम र शैली हेर्दा विचार स्खलित भएका देखिएका छन् र तपाईको काम गर्ने शैली पनि कुरीकुरी गर्नुपर्ने खालका छन् । त्यसैले स्पष्ट नै भन्नुपर्छ, तपाईँ नेतृत्वको लागि योग्य हुनुहुन्न ।
तपाईँ पार्टीभित्रका बिग्रे भत्केका जिम्मेवारीबाट भाग्नुभएको छ । गत निर्वाचनमा भएको पार्टीको लज्जाजनक पराजयपछि तपाईँले नैतिकरुपमा राजीनामा दिएर आफ्नो छाती चौडा बनाउनुहोला भन्ने अपेक्षा धेरैले गरेका थिए । तर, तपाईँले त्यसो गर्न सक्नुभएन । तपाईँ त लिसोसरी टाँसिइरहनुभयो र आगामी महाधिवेशनमा समेत सभापति पद हत्याउने दाउमा हुनुहुन्छ । यो भावी पुस्ताप्रतिको अविश्वास पनि हो, नयाँ पुस्ताका लागि अपमान पनि हो । तपाईँले हालसम्म पार्टीका कुनै पनि जिम्मेवारीलाई तदारुकताका साथ पूरा गर्न सक्नुभएको छैन । यो नेपाली कांग्रेसका लागि दुःखद अवस्था हो । यस दरावस्थाको परिणति अहिले पार्टी नेता तथा कार्यकर्ताले मात्र होइन तमाम देशवासीले भोगिरहेका छन् ।
अहिले राज्यका न्यायिकदेखि प्रशासनिक क्षेत्रका अंग प्रत्यंगमा कम्युनिस्ट सरकारको हालीमुहाली चलेको छ । एनसेल काण्डमा सर्वोच्च अदालतका न्यायाधीशको विवादित निर्णयबाट पनि सरकारले न्यायालयमा समेत हस्तक्षेप गरेको अनुमान गर्न सकिन्छ । दुई तिहाइ बहुमतको दम्भले आक्रान्त कम्युनिस्ट पार्टीले विगत डेढ वर्षको अवधिमा ग्रामीण जनताको गाँस, वास र कपासको सट्टा रेल र पानीजहाजका गुड्डी हाँके पनि काठमाडौंको धूलो र मैलोबाट जनतालाई जोगाउन सकेको छैन । मुखैमा आइसकेको मेलम्चीलाई ठेकेदार भगाएसँगै यो सरकार असफलताबाट झन् ओरालो यात्रामा लागेको छ ।
यसका अघिल्तिर काण्डैकाण्डका शृंखला थुप्रिएका छन् । सरकार कहाँबाट सुरु गर्ने र कहाँ अन्त्य गर्ने भन्ने बारेमा समेत मनोगत रोगले आक्रान्त छ । तर, यी सबैका हुँदाहुँदै पनि तपाईँ केही नदेखेजस्तो गरेर हिँडिरहनुभएको छ । तपाईका विचार, भावभंगीमा र व्यवहार हेर्दा र देख्दा प्रमुख विपक्षी नेताले संसद्भित्र र बाहिर गर्नुपर्ने, बोल्नुपर्ने र लिनुपर्ने दायित्वबाट पन्छिएझैँ लाग्छ । साँच्चै ! यसमा तपाई गहिरोसँग चुक्नुभएको छ ।
दाइ ! तपार्इँलाई लाग्दो हो मेरा पछाडि बहुसंख्यक नेता, कार्यकर्ता छन् । तर, यी तपाईँका आर्जन होइनन् । बढीमा तपाईँ शक्तिमा रहुन्जेलका साथीमात्र हुन् । जब तपाई शक्तिबाट पृथक हुनुहुन्छ तब त बूढानीलकण्ठमा लाग्ने दैनिक मेला पनि समाप्त हुन्छ । तपाई चारपटक प्रधानमन्त्री भइसक्नुभएको छ र तपाईँको नेतृत्वमा बनेको सरकारले केही राम्रो काम गरेको उदाहरण नहुँदा तपाईँको दिमागमा केही सलबलाएको छैन? अर्कोपटक तपाईँ प्रधानमन्त्री नै हुनुभयो भने पनि तपाईका आसेपासे र हुक्के बैठकेले पद, पैसा र पावर त पाउलान् तर देशका गरिब र निमुखा जनताले केही सुविधा, सहुलियत पाउने छैनन् ।
नेपाली जनतालाई तपाईँको सोच, दक्षता र क्षमता राम्रोसँग थाहा भइसकेको छ । थाहा भएकै कुरा हो, तपाईँसँग देशलाई समृद्धिको यात्रामा पुर्याउने र जनताका सुकेका आँत हराभरा पार्ने कुनै दृष्टि र योजना छैन । त्यसैले सत्ताको लोध छोड्नुस् । सत्ताको लालसा छोड्नुस् । महान् प्रतापी राजा भर्तृहरि सत्ताको राजपाठ विक्रमादित्यलाई सुम्पेर आफू कमण्डलु बोकेर वितरागी जीवन जिउने उद्देश्य लिएर हिँडेका थिए । तर, तपाई वैरागी नहुनुस् । तपाईको काँधमा अझै ठूलाठूला दायित्व हुनेछन् । तपाईँले यस पार्टीको अभिभावकत्व ग्रहण गर्नुस् । अनुजहरुलाई मार्ग चौडा गरिदिनुस् । देशदेशावर घुमेर शेष जीवन आरामपूर्वक बिताउनुस् ।
तपाईँभन्दा बुद्धि, बल र योग्यतामा अब्बल देखिएका युवा नेताहरुलाई तपाईको छहारीको आवश्यकता हुनसक्छ । तपाईँका अनुभवहरुको खाँचो पर्न सक्छ । हुर्केका र जवान भइसकेका छोराछोरीलाई अधिकार र कर्तव्यबाट च्युत बनाउने धृष्टता नगर्नुस् । अहिलेको नयाँ पुस्तासँग जुध्न र उनीहरुका आकांक्षा सम्बोधन गर्न तथा उनीहरुलाई नेपाली कांग्रेसप्रति आकर्षण गराउन उनीहरुकै समकालीन नेता र नेतृत्व आवश्यक हुन्छ । तपाईजस्ता ७५ वर्ष नाघेका वयोवृद्धप्रति युवा पुस्ता आकर्षित हुँदैन । म्याद गुज्रेको औषधिले रोगीको हित गर्दैन । जनताको आशा तपाईँहरुबाट टुटिसकेको छ । यो ७५ वर्षको उमेर त विश्रामका लागि हो । हाम्रो धर्ममा जीवन जतग्को सुख, स्वर्ग तथा मोक्षप्राप्तिको लागि सन्यास आश्रमको व्यवस्था छ । त्यसलाई अवलम्बन गर्नुस् । यो नै मोक्षको बाटो हो । बूढो गोरुले गाई ओगटेको जस्तो गरी पार्टीलाई बन्धक नबनाउनुस् ।
पार्टीभित्र गगन थापा र विश्वप्रकाश शर्माजस्ता देशलाई निर्दिष्ट दिशातिर लैजानसक्ने ल्याकत भएका होनहार युवा छन् । तिनले देशको अनुहार परिवर्तन गर्नसक्छन् । पार्टी र भ्रातृ संगठनलाई ऊर्जावान् बनाएर गतिशील बनाउन सक्छन् । ओइलाएका रुखलाई हराभरा बनाउन सक्छन् । विदेश जान खुट्टा उचालेर बसेका युवालाई देशमै बस्न मनलाग्ने बनाउन सक्छन् । भ्रष्टाचारीहरुलाई पाता कसेर जेल हाल्न सक्छन् । हिङको टालोमा नयाँ हिङ पोको पार्न सक्छन् । त्यसैले तपाईँले नै उनीहरुलाई अगाडि बढाउनुस् । अब ढिला नगरीकन पार्टी तिनैलाई सुम्पनूस् ।
कांग्रेसभित्र मूल्य, मान्यता र संस्कारको राजनीति अगाडि बढाउन मद्दत गर्नुस् । अहिले गाइँगुइँ सुनिएको छ – थापा र शर्मालाई महामन्त्रीमा लडाइँदै छ रे ! यो च झन् त्रासदीय दुर्घटना निम्त्याउनुमात्र हो । बरु एकजनालाई अध्यक्ष र अर्कालाई महामन्त्री बनाउन प्रयास गर्नुस् । आगामी निर्वाचनमा गगन थापा नै हाम्रा भावी प्रधानमन्त्री हुन् भनेर अघि सार्नुस् । जसरी निभ्न लागेको कांग्रेसको साखलाई २०५६ को चुनावमा किसुनजी हाम्रा भावी प्रधानमन्त्री हुन् भनेर गिरिजाबाबुले उद्घोष गरेका थिए । यसले तमाम युवाहरुमा नवीन रक्तसन्चार गराउनेछ । समयको यो प्रवाह र गतिलाई चिन्न सक्नुभएन भने तपाईलाई समयले माफी दिँदैन ।
राजनीति सधैँ सरल रेखामा प्रवाहित हुन्न । यसले कहिलेकाँही वक्ररेखा पनि लिन्छ । नयाँ शक्ति र व्यक्ति आउनसक्छन् समयमै हेक्का राख्नुहोला । रवि लामिछानेको सभामा हजारौँ मानिसको उपस्थिति हेरेर पनि तपाईले लख काट्नुभएकै होला । अझै पनि ‘मै खाऊँ मै लाऊँको नीतिमा तपाई अडिग हुनुभयो भने भावी पुस्ताले तपाईँलाई सराप्ने नै छ र मातृभूमिको समेत श्राप तपाईँलाई कालान्तरसम्म लाग्नेछ ।
जीवन हो, कबेलाँ प्याट्ट चुँडिने हो त्यो त कसलाई पो थाहा छ र ?
हालः बोस्टन, अमेरिका ।