काठमाडौं । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकार पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै आन्दोलनरत पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
दिपायलबाट निस्कासिन गरेका तीन जना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै रेडियो नेपालको केन्द्रीय प्रशारण केन्द्रमा नाराबाजी गरेपछि उनीहरु पक्राउ परेका हुन् ।
नेपाल पत्रकार महासंघका सचिवसमेत रहेका श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा रेडियो नेपालमा तालबन्दी गर्न गएका नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी, महासंघका केन्द्रीय सदस्यहरु जन्मदेव जैशी, मीन बम, यम बिरही, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, प्रेस यूनियनका केन्द्रीय सदस्य दिलिप पौडेल, निस्कासन गरिएका डोटीका पत्रकार प्रकाश बम र चक्र कुँवर प्रहरीले पक्राउ गरेको यूनियनका सचिव खिला कार्कीले जानकारी दिए ।
पक्राउ परेका महासंघका केन्द्रीय सदस्य बमले रेडियो नेपाल परिसरमा नाराबाजी गरेपछि आफूहरुलाई प्रहरीले पक्राउ गरेको बताएका छन् । उनीहरुलाई प्रहरीले नेपाल पुलिस क्लवमा राखेको छ ।
यसअघि महासंघको नेतृत्वमा पत्रकारहरुले भदौ २४ गते सिंहदरबारभित्र प्रवेश गरेर रेडियो नेपालको स्टुडियो भवन परिसरमा आधा घण्टा धर्ना दिएका थिए । उनीहरुले धर्ना पछि रेडियो नेपालबाट निस्कासन गरिएका पत्रकारको पुनर्बहाली, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग लेखिएका काला ब्यानरहरु टाँग्दै पत्रकारहरुले नाराबाजीसमेत गरेका थिए ।
रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो । रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए ।