जाजरकोट : सरकारले निस्शुल्क उपलब्ध गराउने सामान्य औषधी पनि जाजरकोटका अस्पतालमा पाइँदैनन्। जसको कारण जिल्ला अस्पताल जाजरकोटमा लामो समयदेखि उपचारमा समस्या भइरहेको छ।
दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकी लगायतका विरामी बढिरहेका छन्। तर, यहाँ औषधीको चरम अभाव छ। अस्पतालले नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि औषधी खरिद गरेको छैन।
जिल्ला अस्पताललाई सरकारले ७२ प्रकारका औषधी निस्शुल्क दिने भने भनेको छ। तर, यहाँ सिटामोल, आइरन चक्की, ब्रोफिन, रेनीटेडीन, मेट्रो, एमोक्सीसिलीन, भुस्कोपान, कोर्टीन, भिटामीन बी कम्प्लेक्स, क्यामामीन लोसन, जीन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सीटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रो, एसिलक, पोन्टक्स लगाएतका अत्यावश्यक औषधीको चरम अभाव छ।
मौसम परिवर्तनसँगै अस्पतालमा विरामीको संख्या बढ्दो छ। तर, निस्शुल्क पाउने औषधीसमेत नपाउँदा सेवाग्राही मर्कामा परेका छन्। दैनिक ६०÷७० जना भाइरल ज्वरोका मात्र विरामी यहाँ आउने गरेका छन्। डाक्टरले चेकजाँच गरेर औषधी लेखिदिन्छन्। तर, विरामीले औषधी पाउँदैनन्।
भेरी नगरपालिका-२ बस्ने कमला थापालाई टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि उनी जिल्ला अस्पताल आइन् चेकजाँच गरेर डाक्टरले औषधी लेखिदिए तर अस्पतालबाट उनलाई कुनैपनि औषधी दिइएन। अस्पतालमा सिटामोलसमेत नभएपछि निजी मेडिकलमा किन्नु परेको उनको गुनासो छ। अस्पतालको फार्मेसीमै औषधी नभएपछि उनी निजी मेडिकल जान वाध्य भइन्।
‘केही समय पहिले कुनै पनि औषधी बाहिर किन्नु पर्दैनथ्योे, सबै निशुल्क पाइन्थ्यो तर अहिले सबै औषधी किनेर खानु पर्ने वाध्यता छ’, कमलाले भनिन् । उनी मात्र होइन, उपचारको लागि जिल्ला अस्पताल पुग्ने सबै विरामीले औषधी नपाउँदा समस्यामा परेको बताएका छन्।
आर्थिक अवस्था कमजोर भएका र सधैँजसो निस्शुल्क औषधी पाइरहेकाहरुले अहिले त्यही औषधी किन्न समस्या भएको स्थानीय धर्मराज परियारले बताए। अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, गुलोब्स र आरएलसमेतको अभाव भएको छ।
‘लेखापाल नहुँदा ल्याव सेवासमेत बन्द हुने अवस्थामा पुगेको छ। ल्यावका लागि आवश्यक पर्ने किटसमेत सकिएको डाक्टरहरुले जानकारी दिए। औषधी खरिदका लागि बजेट आएपनि लेखामा काम गर्ने लेखापाल नहुँदा समस्या परेको छ। औषधी खरिदका लागि बजेट निकासा भइसकेको भएपनि लेखापाल नहुँदा औषधी खरिद गर्न नपाएको उनीहरुले जानकारी दिए।
अस्पतालमा लेखापालको दरवन्दी भएपनि दुईवर्ष देखि पदपुर्ती हुनसकेको छैन। कोष तथा लेखा नियन्त्रकको कार्यालयले तलव खुवाउन काजमा पठाउने गरेपनि असारदेखि लेखापाल आएका छैनन्। लेखापाल नहुँदा स्वास्थ्यकर्मीले साउनदेखि तलव भत्तासमेत खान पाएका छैनन्।
जिल्ला अस्पताल प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतमा गएपछि झन अस्तब्यस्त भएको स्थानीयले बताएका छन्। धेरै स्वास्थ्यकर्मी समायोजन भएर अनेत्र गइसकेका छन्। ‘५० शैयाको यो अस्पताल नाम मात्रको छ। न यहाँ आवश्यक औषधी पाइन्छ न दक्ष जनशक्ति नै छन्’, स्थानीय धनबहादुर खड्काले भने,‘एउटा स्वास्थ्य चौकीले दिने जति सेवा पनि यहाँ पाइँदैन।’