काठमाडौ : सिंगापुरमा उपचार गराएर फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओली ‘कोर्स करेक्सन’ मा जुटेका छन् । पार्टीभित्र त्यस कुराको छनक दिएर उपचारका लागि सिंगापुर निस्किएका प्रधानमन्त्री ओली सरकारका कामकाबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आन्तरिक गृहकार्यमा लागेको सचिवालयले बताएको छ ।
सिंगापुरबाट फर्केपछि प्रधानमन्त्री ओलीले अनावश्यक भेटघाटलाई कटौती गरेका छन् भने अत्यावश्यक सार्वजनिक कार्यक्रम बाहेक नजाने भन्दै सचिवालयलाई व्यवस्थापन गर्न निर्देशन दिएका छन् । आफ्ना मन्त्रीहरुसँग गरेको कार्यसम्झौता नियाल्दै अहिले ओली त्यस बमोजिम काम भएनभएको अनुगमनमा जुटिरहेका छन् । त्यस्तै मन्त्री र सचिवबीच भएका कार्यसम्झौता पनि ओलीले मगाएर हेरिरहेको सचिवालय स्रोतले बताएको छ ।
पार्टी र सरकारका दुवै कामलाई प्रभावकारी बनाउदै कार्यकर्ता र जनमानसमा सकारात्मक सन्देश दिन परिणाम निकाल्ने गरी ओली आन्तरिक काममा लागिरहेको बताईन्छ । यसका लागि प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुभास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उपप्रधानमन्त्री ईश्वर पाखरेल, संचारमन्त्री गोकुल बाँस्कोटा, प्रदेश ५ का मुख्यामन्त्री शंकर पोखरेल लगायतका नेताहरुसँग नियमित र घनिभूत छलफल गरिरहेको बताईन्छ ।
पार्टी कामको जिम्मेवारी हाललाई प्रचण्डलाई दिएर त्यसको चेकका लागि पूर्वएमालेबाट नेता गौतमलाई अघि बढाउने योजना ओलीको देखिन्छ । त्यस्तै प्रभावकारी ढंगले काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ ब्यक्ति ल्याउने चाहना पनि ओलीको रहेको छ । तर यस विषयमा अर्का अध्यक्ष प्रचण्डसँग कुरा मिलिरहेको छैन ।
प्रधानमन्त्री ओलीले सबै मन्त्रालयलाई देखिने गरी काम गर्न यसअघि नै पटक–पटक निर्देशन दिइसकेका छन् । निजी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्ना दैनिक गतिविधि र कार्यशैलीमा परिवर्तन गरेको जानकारी दिएको छ । जानकारीअनुसार प्रधानमन्त्री अब पहिलाको जस्तो जुनसुकै कार्यक्रममा जाने शैलीमा परिवर्तन गरिएको छ ।
सिंगापुरबाट फर्किएपछि उनीे दुईवटा कार्यक्रममा मात्र देखिएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्ता र नेपाल–भारत क्रस पेट्रोलियम पाइपलाइनको उद्घाटनमा मात्र सहभागी भएका हुन् । त्यसपछिका कार्यक्रममा उनले अन्य मन्त्रीलाई पठाउन सुरु गरिसकेका छन् । ‘अब जानैपर्ने काममा बाहेक उहाँले ‘टेबल वर्क’ मा बढी ध्यान दिनुहुनेछ’, सचिवालय स्रोतले बतायो ।
सचिवालयका एक उच्च अधिकारीले भने– ‘उहाँले अब बालुवाटार वा सिंहदरबारबाट नै गतिविधिको अनुगमन गर्ने र काम गर्ने गर्नुहुनेछ । यसअघि उहाँको दौडधूप बढी भएको र उपलब्धि भने त्यति नदेखिएकाले अब दौडधूप नगरी अनुगमनको कार्यलाई बढी ध्यान दिने तयारी गर्नुभएको छ ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने जानकारी दिए । प्रधानमन्त्रीको सट्टामा परराष्ट्रमन्त्री जाने तय भएको उनले बताए । सचिवालयका अधिकारीले जनाएअनुसार अघिल्लो वर्ष प्रधानमन्त्रीको विदेश यात्रा पनि धेरै भएकोमा यसपालि भने विस्तारै कम हुँदै जाने गरी तयारी गरिएको छ ।
प्रधानमन्त्रीले गर्ने भनेको हालैको पूर्वाधार सम्बन्धि एउटा अन्तर्रा्ष्ट्रिय तहको सम्मेलनमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई उद्घाटन गर्न पठाइएका थिए भने बाल दिवसको कार्यक्रमको जिम्मेवारी पनि शिक्षामन्त्रीलाई दिएका थिए ।
यसैगरी यही सेप्टेम्बर महिनामा सुरु हुने संयुक्त राष्ट्र संघको ७४ औँ महासभामा भाग लिन पनि प्रधानमन्त्री ओली नजाने भएकाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने तय भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली सेप्टेम्बर २२ तारेखमा न्युयोर्क जाने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीलाई पछिल्लो समयमा दुईपटक सिंगापुर लगेर स्वास्थ्य उपचार गरिएको थियो । ‘उहाँको स्वास्थ्य अवस्था अहिले ठीक छ, उहाँले नियमितरूपमा काम पनि गरिरहनु भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. अर्यालले भने । उनी सिंगापुरमा करिब दुईसाता स्वास्थ्य लाभ गरेर पछिल्लो पटक भदौ २० गते स्वदेश फर्किएका थिए ।