प्रशिक्षक जोहान कालिनले नियमित कप्तान विराज महर्जनलाई समावेश नगरी सन् २०२२ को विश्वकप फुटबल छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेईविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेका छन् । प्रशिक्षक कालिनले मलेसियाको लिग च्याम्पियन जोहार दारुलसँगको मैत्रीपूर्ण खेलपछि टोली घोषणा गरेका हुन् । घोषित टोलीमा गोलरक्षक किरण चेम्जोङ र एट्याकिङ मिडफिल्डर रोहित चन्दले स्थान बनाएका छन् । यसैगरी, सिनियर स्ट्राइकर भरत खवास आर्मीको प्रशिक्षणमा विदेशमा रहेकाले उनी पनि टोलीबाट बाहिर रहे । प्रशिक्षक कालिनले २३ खेलाडी छनोट गर्दा अघिल्लोपटकका सात खेलाडी बाहिरिएका छन् ।
रोहित र किरण फर्किए
प्रशिक्षक कालिनले मलेसियामा भएको मैत्रीपूर्ण खेलमा रोहित र किरणलाई समावेश गरेका थिएनन् । मैत्रीपूर्ण खेलका लागि घोषित टोलीमा विराज, रोहित र किरणलाई प्रशिक्षकले बाहिर राखेका थिए । सिनियर खेलाडी नभएका कारण नै मैत्रीपूर्ण खेलमा सुजल श्रेष्ठले कप्तानी जिम्मेवारी पाएका थिए । रोहित अहिले इन्डोनेसियाको पार्सिजा जकार्ता क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । विश्वकप छनोटमा सहभागिताका लागि रोहित इन्डोनेसियाबाट काठमाडौंं आइसकेका छन् । सन् २००९ मा एएफसी कपका लागि रोहितले प्यालेस्टाइनविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । डेब्यु गर्दा उनको उमेर १६ वर्ष २२ दिन मात्र थियो । रोहितले अहिलेसम्म ५५ क्याप जितेका छन् । यता नेपालका नम्बर एक गोलरक्षक किरण भारतको मिनेर्भा पन्जाबमा आबद्ध छन् । किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कपको छनोटमा कम्बोडियाविरुद्ध डेब्यु गरेका थिए । उनले अहिलेसम्म ६९ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
पहिलो खेल कुवेतसँग
नेपालले विश्वकप छनोटअन्तर्गत पहिलो खेल १९ भदौमा कुवेतविरुद्ध खेल्नेछ । त्यसपछि नेपालले २४ भदौमा चाइनिज ताइपेईविरुद्ध खेल्ने एन्फाले जनाएको छ । यी दुवैमा नेपालले अवे खेलका रूपमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल एसियन छनोटअन्तर्गत समूह बीमा छ । यस समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । यसमध्ये अस्ट्रेलियासँग विश्वकप फुटबल खेलेको अनुभव छ ।
११ वर्षपछि बाहिर
प्रशिक्षक कालिनले विराज टोलीमा नअटाउनुका पछाडि फिटनेस कारण भएको जनाएका छन् । पछिल्लो समय विराजको फिटनेसस्तर कमजोर भएको प्रशिक्षक कालिनको भनाइ छ । उनको यस निर्णयसँगै विराज सन् २००८ पछि पहिलोपटक राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । २५ मार्च २००८ मा विराजले पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । अहिलेसम्म विराजले ७२ अन्तर्राष्ट्रिय खेल खेल्दै दुई गोल गरेका छन् । सन् २०१६ मा उनको कप्तानीमा नेपालले बंगलादेशमा भएको बंगबन्धु कप, मलेसियामा भएको एएफसी सोलिडारिटी कप तथा २०१६ मै भारतको गुवाहाटीमा भएको १२औँ सागमा स्वर्णपदक जितेको थियो । ३१ अगस्ट २०१५ मा विराजले राष्ट्रिय टोलीबाट ५० अन्तर्राष्ट्रिय खेल पूरा गरेका थिए ।
नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथू, विशाल श्रेष्ठ
रक्षापंक्ति : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, रञ्जित धिमाल, सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
स्ट्राइकर : विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ