काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले नेपाल प्रेस यूनियनमा आवद्ध पत्रकारहरुलाई रेडियो नेपालले बिना कारण निकालेको भन्दै पुनर्बहालीको माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद संग्रौलाले पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई पुनर्बहाली गर्न माग गरेकी हुन् । उनीहरु तीनैजनालाई रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र दिपायलले भदौ १ गतेबाट लागू हुने गरी जागिरबाट निकालेको हो ।
पत्रकार रावल १० वर्षदेखि रेडियो नेपालमा कार्यरत थिइन् भने बम र कुँवर तीन वर्षदेखि कार्यरत थिए । तीनै जनालाई रेडियो प्रसार सेवा विकास समितिले कारण नै नखुलाई जागिरबाट बर्खास्त गरेको सांसद संग्रौलाले बताइन् ।
उनले सरकारी सञ्चारमाथिको हस्तक्षेप र सञ्चारकर्मीको मनोबल गिराउने काम बन्द गरेर पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्दै सरकारी सञ्चार माध्यममा कार्यरत कर्मचारीहरुलाई आत्मसम्मान साथ काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिन् ।