काठमाडौं – पत्रकार शालिकराम पुडासैनीले आफू मर्नुको कारण रवि लामिछाने लगायत ३ जनाको नाम लिँदै आत्महत्या गरे ।
साउन २९ गते चितवनको होटल कंगारुमा आफ्नो मोबाइलमा भिडियो बनाएर टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीको नाम लिँदै पुडासैनीले आत्महत्या गरे ।
आत्महत्या अघिको भिडियोमा नाम लिएपछि प्रहरीले शंकास्पद रवि लगायत ३ जनालाई पक्राउ गर्यो । तीनै जनालाई अनुसन्धानको लागि प्रहरीले दोस्रो पटक जिल्ला अदालत चितवनबाट म्याद थप गरेको छ ।
गत असार ३ गते काठमाडौंको समता अस्पतालमा झुण्डिएको अवस्थामा रामेछापकी विमला तामाङ फेला परिन् । उनको शव नजिकै भेटिएको कागजमा सामाजिक अभियन्ता उत्तम सञ्जेलकी पत्नी ‘म्याम’ (कला अधिकारी), संगीता केसी र तीर्थकुमारी श्रेष्ठको नाम लेखिएको थियो । समता अस्पतालमा विमलाले सरसफाईको काम गर्दै आएकी थिइन् ।
प्रहरीले सञ्जेलकी पत्नी कलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरी अदालतले धरौटीमा रिहा गरेको छ ।
मुलुकी फौजदारी अपराध संहिता लागू भएको २०७४ भदौ १ गतेदेखि हालसम्म देशभर १ सय ३१ जनालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।
‘मुलुकी अपराध संहिता लागू भएको २०७४ भदौ १ गतेदेखि हालसम्म १ सय ३१ जना आत्महत्या गर्न दुरुत्सान गरेको अभियोगमा नियन्त्रणमा परेको छन्,’ उनले भने, ‘यसमध्ये कतिपयलाई सम्माननीय अदालतमा पेश गरिएको छ भने कतिपय अनुसन्धानको प्रक्रियामा छन् ।’
प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा १२, प्रदेश ३ मा १६, गण्डकी प्रदेशमा ८, प्रदेश ५ मा २५, कर्णाली प्रदेशमा ५, सुदूरपश्चिममा ३६ र उपत्यकामा ११ वटा आत्महत्या दुरुत्साहनका उजुरी दर्ता भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ३६ वटा उजुरी दर्ता भएका छन् । कैलालीमा १३, कञ्चनपुरमा ११, बैतडीमा ४ वटा र बाजुरामा २ वटा उजुरी आएका छन् । उपत्यकाभित्र काठमाडौंमा ९ वटा र ललितपुरमा २ वटा उजुरी दर्ता भएका छन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने उल्लेख गरिएको छ । दफामा लेखिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’
कुनै व्यक्तिले आत्महत्या गर्नेसम्मको अवस्था सिर्जना गरेर कसैले आत्महत्या गर्छ भने त्यसलाई आत्महत्या दुरुत्साहनको मुद्दा प्रक्रिया अगाडि बढाउने गरिएकोे सरकारी वकिलको कार्यालय ललितपुरकी जिल्ला न्यायाधीवक्ता मोना सिंहले बताइन् ।
‘आत्महत्या दुरुत्साहनलाई कानूनले कसूर नै मानेको अवस्था छ । आत्महत्या गर्नेसम्मको परिस्थिति निर्माण गर्नेलाई कानूनले कारवाही गर्छ,’ सिंहले थपिन्, ‘पछिल्लो समय २ जना प्रेम सम्बन्धमा बस्ने र पछि समस्या आएपछि आत्महत्या गर्न दुरुत्साहन गर्ने गरेको देखिन्छ ।’
आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भएमा हुने सजायबारे मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा २ मा लेखिएको छ, ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसूर गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र २५ हजार रुपैयाँसम्म जरिवाना गरिने छ ।’
कानूनले तोकेको भएपनि अपराधको गाम्भीर्यता हेरेर २ महिनादेखि ५ वर्षसम्म सजाय हुनसक्ने न्यायाधीवक्ता सिंहले बताइन् ।
लोकान्तरबाट