बाजुरा, १८ चैत्र / बाजुरामा सिकिस्त अवस्थामा रहेकी गर्भवतीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार जहाज चार्टर गरी उपचारका लागि नेपालगञ्ज र्पुयाएको छ ।
बाजुराको बुढीनन्दा नगरपालिका–३ की ४० वर्षीया गर्भवती सेतु लोहारको स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई बाजुराको कोल्टीबाट आपतकालीन उद्धार गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताएका छन् । उनको आठ महिनाको गर्भ छ ।
’हातखुट्टा, आँखा सुन्निएका, फोक्सोमा पानी जमिसकेको अवस्था छ,’ जनस्वास्थ्य अधिकृत कुँवरले भने,’ तत्काल सुविधायुक्त अस्पतालमा र्पुयाउन नसकिए ज्यानै जाने जोखिम भएकाले सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीकै सक्रियतामा नेपालगञ्जबाट जहाज चार्टर गरी उद्दार गरिएको हो ।’
अहिले पनि उनको अवस्था निकै जोखिमयुक्त रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनलाई तत्काल आइसियुमा राख्नुपर्ने अवस्था रहेको अधिकृत कुँवरले बताए । सेतुको यो पाँचौ गर्भ हो ।
यसअघि उनका ४ छोरी छन् । दुर्गमको विपन्न दलित समुदायकी उनलाई सोमबार बिहान कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको थियो । केन्द्रका चिकित्सकले तत्काल उनलाई सुविधायुक्त अस्पतालमा र्पुयाउन रिफर गरेका थिए ।
’घरको आर्थिक अवस्था कमजोर भएकाले जहाज चढाएर बाहिर लैजान सक्ने अवस्था थिएन,’ उनका श्रीमान् तुले लोहारले भने,’ नेपालगञ्जमा उपचार गर्दा लाग्ने खर्च बुढीनन्दा नगरपालिकाले हामी ब्यहोर्छौ भनेको छ ।’ मन्त्रालयले बाजुरा लगायत प्रदेशका विकट पहाडी जिल्लाका गर्भवतीहरुलाई जहाज र हेलिकप्टर चार्टर गरी आपतकालीन उद्धार गर्दै आएको छ ।