कैलाली १८ चैत्र/ आइतवार साँझ आएको बारा र पर्सामा यस्तो शक्तिशाली आँधीहुरी आयो, जसलाई मौसमविद्हरुले पनि दुलर्भ घटना भनेका छन् । मौसमविद मीनकुमार अर्याल यो घटना आश्चर्यजनक र दुर्लभ भएको बताउँछन् ।
आइतबार साझ बारा र पर्सा जिल्लामा यस्तो हावा हुरी आयो । जसले केही छिनमै दर्जनौंको ज्यान लिए । सैयौं घाइते भए । हावाहुरी यति शक्तिशाली थियो की रुखहरु जरैसँग पुरक पुरक उखेलियो । पक्की घर समेत फेदबाट ढल्यो । यतिसम्मका पानीको कल समेत उखेलिएको छ ।
खाना पकाइरहेका गृहणी, दुधे बालक, वृद्धवृद्धा भगवान्को पुकार गर्दै ज्यान जोगाउन लागे । कोही ज्यान जोगाउन खोज्दा खोज्दै मृत्यको मुखमा परे । पशु चौपाया थलोमै किचिएर मरेका छन् । क्षणभरमै बस्ती सखाप भयो । बस्तीमा न त घर रह््यो नत अन्न बाली नै । हावाहुरीले अन्नबाली भिजेका कारण खाद्यान्न सामग्रीसमेत अभाव हुने स्थिति देखिएको छ ।
विद्युत्का सबै पोल ढलेका छन् । जसका कारण बत्ती नआउँदा मोबाइल फोन चलाउनसमेत समस्या परेको छ । आइतबार साँझदेखि बारा र पर्साका ग्रामीण क्षेत्रका नागरिक भोकभोकै आकाश मुनी रात बिताउन बाध्य भएका छन् । बारा पर्साको सीमा क्षेत्रको फेटा, प्रसौनीलगायतका क्षेत्रमा सबैभन्दा बढी प्रभावित भएको छ ।
‘गोरखा भूकम्प’ को जस्तै प्राकृतिक विपत्तिमा परेका छन् बारा र पर्साका बासिन्दा । एकै क्षणमा बस्ती नै सखाप बनाउने गरी आएको हावाहुरीले घर उडायो, बस्ती उडायो, रुख बिरुवासमेत खण्डहर बनाएको छ ।
पछिल्लो विवरणअनुसार ३१ को मृत्यु भएको छ भने ६०० बढी विभिन्न अस्पतालमा उपचाररत छन् । एकाएक आइपरेको विपद्ले अस्पतालमा चिकित्सको अभाव देखिएको प्रदेश नं २ को सरकारले जनाएको छ । घाइतेको उपचारका लागि स्थान अभाव भएका छन् । रगतको समेत अभाव देखिएको छ ।