धनगढी,१६ चैत । बैतडी समाज कैलालीले आउँदो चैत २१ गतेदेखि पाटनमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। बैतडी समाजले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आउँदो चैत २१ देखि २३ गते सम्म स्वास्थ्य शिविर आयोजना गर्न लागेको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा बोल्दै बैतडी समाजका उपाध्यक्ष तथा स्वास्थ्य शिविरका संयोजक गजेन्द्र विर चन्दले तीन दिन सम्म चल्ने स्वास्थ्य शिविरमा निःशुल्क उपचार सेवा प्रदान गरिने जानकारी दिए। शिविर सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाईरहेको पनि चन्दले बताए।
झण्डै चार हजारलाई सेवा दिने गरी सञ्चालन हुन लागेको शिविरमा ६ जना विशेषज्ञ चिकित्सकको टोली उपचारमा संलग्न हुनेछन्। शिविरमा वीर अस्पताल काठमाण्डौँमा कार्यरत जनरल फिजिसियन डाक्टर चेतराज भट्ट, पद्यमा अस्पताल अत्तरियामा कार्यरत हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नर बहादुर मौनी, माया मेट्रो अस्पताल धनगढीमा कार्यरत स्त्रीरोग विशेषज्ञ डाक्टर रविन्द्र भट्ट, नवजिवन अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डाक्टर सुमन नेपाल, हिमाल डेन्टलमा कार्यरत दन्तरोग विशेषज्ञ र गेटा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ चिकित्सको टोलीले सेवा प्रदान गर्ने स्वास्थ्य शिविरका संयोजक गजेन्द्र विर चन्दले जानकारी दिए।