धनगढी,०३ चैत ।मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदूरपश्चिम प्रदेश च्याम्पियन भएको छ। ७ स्वर्ण ७ रजत र १० कास्य पदकमा तीन स्वर्ण जित्दै सुदूरपश्चिमले पहिलो स्थान हासिल गरेको हो।
आयोजक सुपले तीन स्वर्ण एक रजत र ३ कास्य सहित ७ पदक पाएको छ। यसैगरी प्रदेश नम्बर १ दोस्रो भएको छ। एक स्वर्ण तीन कास्य र दुई रजत सहित प्रदेश १ ले ६ पदक पायो। प्रदेश नम्बर ५ पनि एक स्वर्ण दुई रजत जित्दै तेस्रो भयो। प्रथम भएको सुदुरपश्चिमले नगद १५ लाख दोस्रो भएको प्रदेश १ ले नगद ८ लाख र तेस्रो भएको प्रदेश ५ ले नगद ५ लाख सहित ट्रफी प्राप्त गरेका छन् ।
प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ एक स्वर्ण एक रजत पदक सहित संयुक्त रुपमा चौथो भए। गण्डकी प्रदेश ३ रजत सहित पाँचौ हुँदा कर्णाली एक रजत सहित छैटौं भयो।
सुदुरपश्चिम सरकारको आयोजनामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता आयोजना गरिएको थियो। ७ वटै प्रदेशका खेलाडी, सफिसियल र प्रशिक्षक गरी झण्डै साढे छ सयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याटमिन्टनका खेल महिला र पुरुष तर्फका खेल आयोजना गरिएका थिए। फुटबल खेल भने पुरुष तर्फ मात्रै गरिएको थियो।