धनगढी ,८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत प्रकरणमा पहिलो पटक बोलेका छन् ।
बुधबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उनले शर्माको गीतलाई जनताले मन नपराएको बताएका हुन् ।
लोकगायक शर्माको नाम नलिइ प्रधानमन्त्री ओलीले भने, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’
शर्माको ‘लुट कान्छा लुट’ बोलेको गीत हालै सार्वजनिक भएको थियो । तर, सत्तारुढ नेकपा सम्बद्ध युवा संघले गीत नसच्याए बहिस्कार गर्ने धम्की दिएको थियो । लगतै शर्माले युट्युब च्यानलबाट आफ्नो गीत हटाएका छन् ।
तर, शर्माको गीतमाथि प्रतिवन्ध लगाउन खोजेको भन्दै सरकारको चर्को आलोचना भयो ।प्रमुख विपक्षी कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसदमै शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा गरे ।
तर, प्रधानमन्त्री ओलीले सिंहप्रति कटाक्ष गरेका छन् । सिंहको नाम नलिइ उनले एक सांसदले नेपालीलाई सुहाउने गीत किन हटाएको भन्दै २५ हजार पुरस्कार घोषणा गरेको सुनाए । उनले हाँस्दै भने, ‘अचम्म लाग्यो मलाई, कहाँ जान खोज्दैछौं हामी ।’
‘भावनामा बगेर एउटा गीत लेखे, युट्युबमा पनि हाले तर, सबैले राम्रो गरेनौं भाइ भनेपछि हटायो त सिध्यियो नि कुरा’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
भारतसँगको सम्बन्ध बिगार्न चलखेल
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध बिगार्नका लागि चलखेल भएको बताएका छन ।सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले अरुण तेस्रो माथि तोडफोड गर्ने, बम पड्काउने लगायतका काम गरेर नेपाल–भारतसँगको सम्बन्ध बिगार्न खोजेको बताएका हुन् ।
राजनीतिक आवरणमै लुटपाट र देशलाई डुबाउँने खालका कामहरु भैरहेको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई आतंकित पार्ने, अन्तर्राष्ट्रिय दुनियाँमा नेपालको बद्नाम गर्नेकार्यहरु सरकारको लागि स्वीकार्य नहुने बताए । उनले विप्लव नेतृत्वको पार्टीको गतिविधिप्रति संकेत गर्दे मुलुकलाई अशान्त बनाउन खोज्ने र छिमेकीसँगको सम्बन्ध बिगार्न खोज्नेविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने धम्की दिए ।
प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ संविधानले शक्तिको विकेन्द्रिकरण मात्र नभएर शक्ति हस्तान्तरण भएको पनि उल्लेख गरे । अहिलेसम्मका हरेक आन्दोलनको मुख्य उपलब्धि नै स्थानीयस्तरसम्म शक्ति हस्तान्तरण भएको बताए ।
सुदूरपश्चिम प्रदेशको विकासका लागि संघिय सरकारले ठुला योजनाहरु निमार्ण गर्न तर्फ लागेको भन्दै उनले यो प्रदेशका जनताहरुका भावना र चनाहरुलाई मध्यनजर गदै सरकारले प्रदेश सरकार संघ समन्वय गरी अघि बढ्ने बताए।
सरकारले लोकतन्त्रको संरक्षण गर्न नेपालमा शान्ति सु व्यवस्था स्थापना गर्न सरकार लागि परेको प्रदेश सभामा जानकारी गराए। प्रधानमन्त्री ओलीले जनताले अहिले हामीलाई दुई तिहाई बहुमत दिएका छन, पाँच वर्ष भित्र जनताको मान्डेड पुरा गर्ने प्रतिबद्धता गरेका छन ।
प्रधानमन्त्री सहित नेकपाका शिर्ष नेता धनगढीमा
नेकपाले धनगढीमा प्रदेश कार्यकर्ता भेलामा संम्वोधन गर्न नेकपाका शिर्ष नेता धनगढी पगेका छन । सुदूरपश्चिम कमिटिले आयोजना गरेको प्रदेश कार्यकर्ता भेलामामा संवोधन गर्न उनीहरु धनगढी पुगेका हुन ।
कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड, महासचिव ईश्वर पोखरेल, नेता भिम रावल, लेखराज भट्ट, कर्ण थापा, प्रतिनिधि सभाहरुका सदस्यहरु, सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, प्रदेशका मन्त्रीहरु तथा प्रदेश सभा सदस्य सहित नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो।