धनगढी,०४ फागुन । नेपाल भारत सीमामा पर्ने कैलालीको शिवरत्नपुरमा भारतीय पक्षद्वारा एकलौटी रुपमा नाली निर्माण गरिएको छ । कैलारी गाउँपालिका–३ शिवरत्नपुरको कोसमबाबा मन्दिरको पूर्वतिर करिब २ किलोमिटर क्षेत्रमा भारतीय पक्षले एकलौटी रुपमा नाला निर्माण गरेको हो । नेपाल–भारत सीमाको पिलर नम्बर १४९ देखि १५१ सम्मको भूभागमा नाला निर्माण गरिएको छ ।
स्थानीयका अनुसार झन्डै दुई हप्तापहिले भारतीय पक्षले सो क्षेत्रमा नाला निर्माण गरेको हो । गाउँका भलादमी रामप्रसाद चौधरीका अनुसार निकुञ्ज क्षेत्रका जीवजन्तुको संरक्षण र जनावरको प्रवेश रोक्न भन्दै भारतीय वन कर्मचारीले डोजर लगाएर नाला निर्माण गरेको बताए ।
भारतले बनाएको नालाबाट शिवरत्नपुर गाउँका करिब ८६ घर डुबानमा पर्ने भन्दै शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य वीरमान चौधरीले सरकारको ध्यानाकर्षण गराएका थिए । चौधरीकै नेतृत्वको एक टोली नाली निर्माण रोकथामका लागि आवश्यक पहल तथा छलफलका लागि शनिबार स्थलगत निरीक्षण गर्न पुगेको थियो । यसअघि कञ्चनपुरमा पनि भारतीय पक्षले एकलौटी रुपमा नाली निर्माण गरेको भन्दै नेपाली पक्षले विरोध जनाएको थियो ।