तेज बोहरा, कैलाली १७ माघ/ पश्चिम सेती निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजले ल्याएको समान धमाधम लैजान थालेको छ ।
बझांङ, बैतडीको ढुंगाढ र डोटीको बीच भागमा पर्ने तलार क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाटको पश्चिमसेती परियोजनाका सामान चिनियाँ थ्री गर्जेज कम्पनीले धमाधम फिर्ता लैजान लागेको हो ।
पश्चिम सेती नबन्ने भएपछि परियोजना क्षेत्रमा आफूले ल्याएका मेशिनरी औजार कम्पनीले हेलिकप्टरमार्फत ओसार्न थालेको स्थानीयवासीले जानकारी दिए ।
केही दिन पहिले मात्रै उक्त क्षेत्रमा पुगेका थ्री गर्जेज कम्पनीका कर्मचारीले धमाधम मेशिनरी औजारलगायतका सरसामान लैजान थालेपछि स्थानीयवासी निरास बनेका छन् ।
डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले थ्री गर्जेजले आफ्ना समाना लैजाँदैछ भन्ने जानकारी पाएको बताए ।
उनले भने, ‘थ्री गर्जेजले सामान लगिरहेको खबर पाए तर आधिकारिक के हो, बुझँदैछु ।’ भाडामा लिएको जमीनको रकम नदिएको भन्दै केही महीना पहिले स्थानीयवासीले रकम असुलीका लागि कम्पनी विरुद्ध जिल्ला प्रशासन कार्यालय डोटीमा निवेदन दिएका थिए ।
सो कम्पनीले अचानक किन आफ्नो समान लग्यो भन्ने विषयमा डोटीमा निकै खलबल शुरु भएको स्थानीयवासी तथा पत्रकार रोजेन्द्र जोशीले बताए ।
पश्चिम सेती परियोजना बन्छ र डोटीको विकास हुन्छ भन्ने आशमा बसेका डोटेलीको सपना फेरि अधुरै रहने लक्षण देखिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थ्री गर्जेज कम्पनीले आफ्नो सामान लैजान्छन् भन्ने विषयमा अहिलेसम्म कसैले जानकारी नदिएको बताए । उनले भने, ‘थ्री गर्जेजले सामान लैजाँदै छ भन्ने विषयमा कसैले पनि जानकारी दिएको छैन, किन लगेको रहेछ म केन्द्रमा बुझ्छु ।’
पश्चिम सेती परियोजना डोटीका लागी मात्र नभई सुदूरपश्चिम प्रदेश र राष्ट्रकै गौरवको परियोजना भए पनि केन्द्रीय सरकारले ध्यान नदिँदा पश्चिम सेतिको आश मेरेको स्थानीयवासीको दुखेसो छ ।
सुदूरपश्चिम प्रदेशको विकास गर्नका लागि पश्चिम सेती परियोजनाले महत्वपूर्ण योगदान दिने भए पनि विभिन्न बहाना देखाउँदै करीब ३७ वर्षदेखि चर्चामा रहेको उक्त परियोजना हालसम्म निर्माण हुन नसकेको तलाराका स्थानीयवासी दीपकबहादुर सिंहले बताए ।