धनगढी,५ माघ ।कैलालीको अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुई समूहविच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुदा गोदावरी नगरपालिका १ का १९ वर्षिय अरुण भट्टको मृत्यु भएको हो।
कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियार चलाउदा भट्टको मृत्यु भएको बताए। उनका अनुसार मृतक भट्टको दाँया र बाँया छातीमा गहिरो चोट छ।हतियार यो नै हो भन्न नसकिएपनि चोट हेर्दा खुकुरी वा चक्कु हुनसक्ने प्रहरीको अनुमान छ।
घटना लगतै उनलाई अत्तरियाको पद्यमा अस्पताल लगिएको थियो। त्यहाँबाट सेती अञ्चल अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो। झडपमा भट्ट समूहका थप तीन जना घाइते भएका छन्। घाईते हुनेहरुमा गोदावरी–१ कै सविन कटेल, गणेश राई र राजेश नेपाली रहेको प्रहरी उपरिक्षक तिम्सिनाले जानकारी दिए।
उनीहरुको अवस्था खतरामुक्त छ।घटना अत्तरियामा रहेको सशस्त्र प्रहरीको वाहिनी नजिकै भएको बताइएको छ। मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको छ। झडपमा संलग्न भई तारिलो हतियार प्रहार गर्ने समूहको पनि पहिचान भइसकेको प्रहरीले बताएको छ। तर उनीहरुको नाम भने गोप्य राखिएको छ।