काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्दै गर्दा अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन । घटनाको प्रारम्भिक प्रमाण संकलनमा हेलचेक्र्यााईं भएका कारण अभियुक्त पत्ता लगाउन कठिन मात्र भएको छैन, अनुसन्धान नै गोलचक्करमा फसेको छ ।
कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली बिष्टको समूहले घटनाप्रति नजरअन्दाज मात्र गरेन, पीडित पक्षलाई गरेको दुव्र्यवहारका कारण स्थानीय बासिन्दा आक्रोसित छन् । घटनाको निष्पक्ष छानविन माग गर्दै स्थानीय बासिन्दाले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक किशोरको मृत्यु भएको थियो ।
नेपाल प्रहरीको इतिहासमै अति विवादितमध्येको घटना हो यो । त्रुटिपूर्ण अनुसन्धान गरेका कारण एसपी बिष्टसहित डीएसपी ज्ञानबहादुर सेटी र अंकुर जीसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का तथा सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परिसकेका छन् ।
प्रहरी अधिकृतहरू नै निलम्बनमा परेका कारण अनुसन्धान प्रक्रियामाथि नै संशय पैदा भएको छ । स्थानीय प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अधिकृतहरू निलम्बनमा परेकाले एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा अनुसन्धान समिति गठन गरेर कञ्चनपुर पठाइसकिएको छ । यस्तै, डीआईजी (हाल एआईजी) धीरु बस्नेतको संयोजकत्वमा प्रहरी अधिकृतहरूमाथि छानविनका लागि अलग्गै समिति गठन भएको छ ।
यसअघि नै गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा घटना छानविनका लागि समिति गठन गरिसकेको छ । तर, ती कुनै समितिले निर्मलाको हत्यामा संलग्न व्यक्ति/समूहको पहिचान गर्न सकेका छैनन् ।
एसपी बिष्टको निलम्बनपछि कञ्चनपुर प्रहरीको कमान्ड सम्हालेका एसपी कुवेरसिंह कडायत नेतृत्वमा एक सयभन्दा बढी स्थानीय बासिन्दासँग सोधपुछ गरिसकिएको छ । तर, अभियुक्तसम्म पुग्ने बलियो आधार फेला परेको छैन ।
प्रहरी प्रधान कार्यालयले नै घटनामा संलग्न हुन सक्ने आशंकामा २२ जनाभन्दा बढीलाई उपस्थित गराई बयान र पोलिग्राफ परीक्षणसमेत गरिसकेको छ ।
एसपी बिष्ट, उनका छोरा आयुष र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा किरणको डीएनएको नमूना संकलन गरिएको छ । डीएनए परीक्षणको नतिजा यसै साता आइसक्ने प्रहरीको भनाइ छ । पीडित परिवार र स्थानीय बासिन्दा डीएनए परीक्षणको नतिजा पर्खेर बसेका छन् ।नेपाल समयले खबर लेखेको छ ।