सुदूरपश्चिम विश्वविद्यालयमा नेविसंघकाे ताला

सुदुरपश्चिम विश्वविद्यालयले नियमविपरित उप–प्राध्यापक भर्ना गरेको भन्दै मंगलबार नेपाल विद्यार्थी संघले कञ्चनपुरले तालाबन्दी गरेको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कैलाश चन्दले सु.प. विश्वविद्यालयमा भईरहेको वेथितिविरुद्धमा तालाबन्दी गरेको बताए । उनका अनुसार, विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. पूर्ण बहादुर चन्दले आफूनिकट तर्कराज जोशीलाई सोझै सुपको उप–प्राध्यापक पदमा नियुक्ति दिएको भन्दै नेवि संघ आन्दोलित भएको सदस्य चन्द जानकारी दिए । सुप विश्वविद्यालयको ऐन, नियम तथा प्रक्रिया मिचेर एकलौटी ढङ्गबाट गरिएका नियुक्ति खारेजी गर्नसमेत नेवि संघले माग गरेको छ । विज्ञापनविनै आफुखुसी नीजि कम्पनीमा कर्मचारी राखेको शैलिविरुद्ध सुप केन्द्रीय कार्यालय र विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा अनिश्चिकालिन तालाबन्दी गरिएको केन्द्रीय सदस्य चन्दले बताए । सिद्धनाथ विज्ञान क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख चन्दले सुपमा डिन भए लगत्तै विज्ञान क्याम्पसबाट जाँदाजाँदै आफूखुसी एक उप–प्राध्यापकलाई नियुक्ति गरेपछि नेवि संघ र क्रान्तिकारीको बिरोधपछि विज्ञान क्याम्पसले चन्दले दिएको नयाँ नियुक्ति कार्यान्वयन नगर्ने निर्णय गरेको थियो । उनी सुप विज्ञान तथा प्रविधि संकायको डिनमा नियुक्ति भएको महिनादिन नबित्दै आफू निकटका कर्मचारी, शिक्षक भर्ना गरेर विवादमा तानिएका छन् । सुप विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा.पूर्ण बहादुर चन्दले आफूलाई नयाँ प्राध्यापक नियुक्तिको विषयमा कुनै जानकारी नभएको बताए । सुप विश्वविद्यालय बिरोधी भन्दै उनको नियुक्तिको बिरोध गरेका विद्यार्थी संगठनले सुपमा जथाभावी शिक्षक कर्मचारी भर्ना गरिए बिरोधमा उत्रने चेतावनी दिएका छन् ।