७ नम्बर प्रदेशबाट सुरु भयो धुर्मुस-सुन्तलीको ‘नमूना नेपाल’ अभियान

धनगढी, २२ साउन बहुचर्चित धुर्मुसु–सुन्तली फाउण्डेसनले ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजनाको सुरुवात गरेको छ । फाउण्डेसनले आईतवार गोदावरी नगरपालिकाको अत्तरियाबाट सरसफाई अभियानको थालनी गरेको छ । फाउण्डेसनले अत्तरिया चौकमा सरसफाई गरेको थियो । सरसफाई कार्यक्रममा बैंक अफ काठमाण्डौका ब्राण्ड एम्बेसडर तथा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस), शुरवीर पण्डित (दाह्रीबा), पल्पसा डंगोल (चम्सुरी) लगायतक बैंकका कर्मचारी, गोदावरी नगरपालिकाका मेयर, उपमेयर लगायत अन्य पदाधिकारीहरु, तिनवटै सुरक्षा निकायका प्रतिनिधिहरु, ओम शान्ति लगायत स्थानियहरुको सहभागितामा सरसफाई गरीएको छ । नेपाल सरकारका सरसफाइ राजदूत कलाकार तथा सामाजिक अभियन्ता धुर्मुसले सकारात्मक सोच अभिवृद्धिका लागि यसपटक सरसफाइ अभियान शुरु गर्न सुदूरपश्चिम ७ नं प्रदेश पुगेको बताउनुभयो । उहाले आँट र साहस गरे देश बन्न धेरै समय नलाग्ने बताउनुभयो । अत्तरियाबाट सुरु भएको सरसफाई अभियान टिकापुर, कोहलपुर, तुलसीपुर, बर्दघाट हुदै काठमाडौंमा पुगेर समापन गरिने छ । ललितपुरको लेलेमा निर्माण हुन लागेको नमुना नेपालको लागत करिब ५ अर्ब रुपैया लाग्ने बताउँदै फाउण्डेशनका अध्यक्ष कट्टेलले सरकारलाई उक्त योजनालाई राष्ट्रिय गौरबको योजनाको रुपमा अगाडि बढाउन आग्रह गरिसकेको जानकारी दिनुभयो ।