काठमाडौं, ६ साउन |अनशनरत डा. गोविन्द केसीको आन्दोलनमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले ऐक्यबद्धता जनाएका छन् ।
आइतबार विज्ञप्ती जारी गरी केसीको अनशन लम्बिएकोमा उनीहरुले चिन्ता जनाएको नयाँ पत्रिकाले खबर लेखेको छ ।
चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले यस अघि राखेका मागमा सरकारले सहमति गरेर पनि कार्यान्वयन नगर्दा १५औं अनशन बस्नुपरेको विज्ञप्तीमा उल्लेख छ । पटकपटकको लामो अनशनले केसीको जीवन संकटमा परेको भन्दै उनका माग सम्बोधन गर्न सम्पादकहरुले सरकारसँग माग गरेका छन् ।
विज्ञप्तीमा लेखिएको छ ‘पटकपटकको अनशन र लम्बिदो उपक्रमले डा. केसीको जीवन नै संकटमा परेको छ । हामी डा.केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउँछौ । साथै उहाँका माग अविलम्व सम्बोधनका लागि जोडदार माग गर्दछौ ।’
नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वला देवकोटासहित विभिन्न १४ सञ्चारमाध्यमका सम्पादकहरुले विज्ञप्तीमार्फत केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् ।