धनगढी,४ सावन ।
एक हुल यूवाहरु हातमा झाडो बोकेर धनगढी पार्कमोडको बाटो निस्कीए । छिनमै क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र बाहिरको पर्खाल सफा गरे । नालीमा भएको फोहर उठाए ।
यो अभियान बिहीबार मात्रै होईन धनगढीमा एक महिना देखि चलिरहेको छ ।
धनगढीलाई सफा र स्वच्छ राख्न यूवा शान्ति परिषदले थालेको अभियान अन्तरगत धनगढीका बिभिन्न ठाउँमा सरसफाई भैरहेको छ । धनगढी उप–महानगरपालीकाका प्रमुख नगरलाई स्वच्छ बनाउने अभियान अन्तरगत यूवा शान्ति परिषद संग समन्वय गर्ने काम भएको बताए । उनले भने,‘यसले सकारात्मक सन्देश समेत दिएको छ । अहिले सयौंको संख्यामा बिभिन्न क्याम्पसका बिद्यार्थीहरु स्वयंसेवकको रुपमा परिचालन भएका छन् । यूवा शान्ति परिषदका संयोजक प्रेम ढुंगानाका अनुसार यो अभियानमा धनगढी उप–महानगरपालीकाले समन्वय गरेको छ ।
हामीले बिभिन्न क्याम्पसमा सरसफाईका लागि सहयोग गर्ने यूवा स्वयंसेवक तयार गरेका छौं संयोजक ढुंगानाले भने,‘यूवाहरुले रचनात्मक काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । धनगढीको जयमालीका क्याम्पस, एसपिए ,कैलाली बहुमुखी क्याम्पस लगायतका बिद्यार्थीहरुलाई सरसफाईका बिषयमा अभिमूखीकरण समेत दिने काम भएको संयोजक ढुंगानाले बताए ।
आफ्नो नगरको सरसफाई आफै गर्नुपर्छ भन्ने सन्देश दिनका लागि हामी यो अभियानमा लागेका हौं जय मालिका क्याम्पसकी छात्रा स्वस्तिका सिंहले भनिन्,‘घरभित्रको फोहर पनि नगरपालीकाले नै आएर उठाईदिनुपर्छ भन्ने मान्यता सबैले त्याग्नुपर्छ । सोही क्याम्पसका अर्का विद्यार्थी हेमन्तराज ओझाले नगर फोहर गर्नु आफ्नै घर आगन फोहर गर्नु जस्तै भएको बताए ।
यूवाहरुले नगर सरसफाई गर्नुका साथै नगरपालीकाको ब्रान्ड हरियो संग बिभिन्न ठाउँमा लगाउने काम समेत गरिरहेका छन् ।