धनगढी। गेटा मेडिकल विश्व विद्यालय निर्माणको माग गर्दै भोलि(आईतवार) आह्वान गरिएको सुदूरपश्चिम बन्दको कार्यक्रम फिर्ता लिन माग गरिएको छ । आज नेपाली कांग्रेस कैलालीले एक प्रेस विज्ञप्ती जारी गर्दै बन्दको कार्यक्रम फिर्तागरी यसको संचालनमा सहयोग गर्न अपील गरेको हो ।
बिज्ञप्तीमा भनिएको छ,“नेपाल सरकारको लगानीमा कैलाली जिल्लाको गोदावरी नगरपालिका–५मा गेटा मेडिकल कलेज पुर्वाधार विकास समिति मार्फत भौतिक संरचना निर्माणको अन्तिम चरणमा रहेको गेटा मेडिकलकले सञ्चालनकोमा गराख्दै अगाडी बढेको नागरिक पहलप्रति नेपाली काँग्रेस कैलालीको ध्यानाकर्षण भएको छ । ”
कैलाली जिल्ला सभापति नारायण भट्टद्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको अथक प्रयासबाट नेपाल सरकारले गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माण प्रकृया अगाडि बढेको समेत दाबी गरिएको छ ।
नेपाली काँग्रेस सधै जनताको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य क्षेत्रको विकास, विस्तार तथा जनताले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्यसेवा र स्वास्थशिक्षा राज्यले उपलब्ध गराउनु पर्दछ भन्ने मान्यतामा हिजो, आज र भोलीसम्म पनि रहनेमा आम नागरिकलाई जानकारी गराउन चाहन्छौँ बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा भनिएको छ ,“जेठ २८गते सुदूरपश्चिम बन्द घोषणा गर्ने भन्ने सुनिएको छ । यति वेला संघीय सरकारमा नेपाली काँग्रेस सहभागी छ । सुदूरपश्चिम प्रदेश सरकारको नेपाली काँग्रेसले नेतृत्व गरिरहेको छ। नेपाली काँग्रेस नेतृत्वको सरकारको पालामा भौतिक संरचना निर्माण दु्रत गतिमा अघि बढेको गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा आउने छ भन्नेमा पूर्णविश्वस्त छौ।”
सोही बिज्ञप्तीमा भनिएको छ ,“सुदूरपश्चिमको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका साथै समग्र आर्थिक विकासमा कोशेढुङ्गा सावित हुने गेटा मेडिकल कलेज प्रति यस क्षेत्रका आमजनता, नागरिक समाज, वौद्धिक वर्ग सहित सबैपक्षको चासो र सरोकार प्रति नेपाली काँग्रेस कैलाली उच्च सम्मान व्यक्त गर्दछ । यो मेडिकल कलेजको बाँकी रहेको भौतिक संरचना निर्माण छिट्टै पुरा हुने र स्वास्थ्य सेवा र स्वास्थ्यशिक्षा पनि सञ्चालन हुने प्रकृया अघि बढिरहेको सन्दर्भमा आम जनतामा नकारात्मक असरपार्ने खालका कुनै पनी कार्य र वक्तव्य गर्नु उचित हुँदैन भन्नेमा पनि नेपाली काँग्रेस सजग छ। नेपाली काँग्रेस गेटा मेडिकल कलेज छिट्टै सञ्चालन गर्ने तर्फ गम्भीर र संवेदनशील छ ।”
यता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश जिल्ला समन्वय समिति कैलालीले पनि बिज्ञप्ती मार्फत बन्द फिर्ताको माग गरेको छ ।
शान्तिपूर्ण तरिकाले गरिने आन्दोलन प्रति समर्थन गदै आमहडतालको बिपक्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज हरि ज्ञावाली अखण्डद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत बन्द फिर्ता गर्न भनिएको हो । शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनार्थ सघर्ष समितिले भोली सुदूरपश्चिम प्रदेश बन्दको आह्वान गरेको छ ।