कैलाली। शनिबार कैलालीको गेटामा सडक बहस गरिएको छ। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति गठननै गरेर गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै सडक बहस गरिएको हो ।
जेठ १५ मा अर्थमन्त्री डा। प्रकाशशरण महतले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउने र १०० शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको बिरोध भैरहेको छ। सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा त्यसलाई कार्यान्वयन नगरिएको भन्दै संघर्ष समिति आन्दोलित छ।
सडक बहसमा बोल्ने बक्ताहरुले सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनमा ल्याउन जोड दिएका छन् । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले गेटामा विश्वविद्यालय बनाउने भनेर सरकारले नै निर्णय गरेर अहिले पन्छिन नमिल्ने बताए। उनले २०६३ सालदेखि नेताहरुलाई गेटामा मेडिकलको विषयमा माग गर्दै माला लगाउदा पनि माग पुरा नहुनु विडम्बना भएको बताए।
‘नेताहरुलाई सुदूरपश्चिमको विकासका लागि बिन्तिपत्र चढाउँदा चढाउँदै एउटा पुस्ता नै भइसकेको छ’ उनले भने ‘सुदूरपश्चिमको सेती प्रोजेक्ट कहिले बन्छ रु महाकाली करीडोर कहिले बन्छ रु सेती लोकमार्ग कहिले बन्छ रु पञ्चेश्वर कहिले बन्छ रु कर्णालीको त कुरै गर्न छोडीसकेका छौ ।’उनले गेटा विश्वविद्यालयका लागि अत्तरियाले मात्रै आन्दोलन गरेर सफल हुन नसक्ने भएकाले यसका लागि सूदूरपश्चिम नै उठ्न आवश्यक रहेको बताए । उनले सरकारले गेटामा कहिले मेडिकल कलेज, कहिले विश्वविद्यालय भनेर अल्झाउने काम गरेको बताए । उनले गेटामा मेडिकल कलेज बनाउका लागि सशक्त आन्दोलनको आवश्यकता रहेको बताए ।