धनगढी।वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिमले उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । दिगोवन व्यवस्थापन (सिल्भिकल्चर सिस्टम) कार्यविधि सरोकारवालाहरुको समन्वयमा कार्यदल तयार गर्नु पर्ने लगायतका माग राखी ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको हो ।
२०७७ माघ ११ गतेको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेजीले ३ वर्ष देखि वन भित्र भएका काँठ दाउरा निकाल्न नदिई आगलागी भई नष्ट हुनुको साथै वातावरणमा समेत असर भईरहेको भन्दै उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै मन्त्री धामीले यस सम्बन्धमा बिज्ञको परामर्शका आधारका अगाडी बढ्ने बताए । पछिल्लो समयमा वन क्षेत्रमा अनियमितता बढ्न थालेको गुनासो आउन थालेकोले यसलाई नियन्त्रण गर्न आफु लागिपरेको बताए । सोही क्रममा मन्त्री धामीले वन भित्रका हरेक समस्या सामाधान गर्न मन्त्रालयमा एक बिज्ञ समुह निर्माण गरि उनीहरुका सल्लाहका आधारमा अघि बढ्ने समेत बताए ।
प्रचलित कार्यविधि अनुसार वन कार्ययोजना निमार्ण र वन व्यवस्थापन योजना अनुसार काँठ दाउरा संकलन तथा व्यवस्थापन गर्न घुम्ती कोषको रुपमा वजेटको व्यवस्थापन गर्नुपर्ने लगायतका बिभिन्न ७ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको साझेदारी वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिव यादव प्रसाद भण्डारीले जानकारी दिए ।