फूलवारी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहले ईलाका प्रहरी कार्यालय बहुलियाको कार्यालय भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर-१९ ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री सिंहले प्रहरी कार्यालयको भवन निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
मन्त्री सिंहले भवन अभावका कारण कैलालीको धनगढी उपमहानगरपालिका -१९, फूलवारीमा रहेको ईलाका प्रहरी कार्यालय बहुलियालाई सेवा दिन कठिनाई भएको भन्ने गुनासो आएकोले नयाँ आर्थिक बर्षबाट भवन निर्माण प्रक्रिया सुरु गर्ने बताए । उनले भारतको सिमाना नजिक रहेको फूलवारीमा प्रहरीको भुमिका अत्यन्त महत्तवपूर्ण रहेकाले भवन निर्माणको प्रक्रिया यथासिघ्र अगाडि बढाउने बताए । ईलाका प्रहरी कार्यालय बहुलियाको मातहतमा रहेको ६ बिघा १० कट्टा जमिनमा मन्त्रालयको बजेटको अवस्था हेरेर भवन निर्माणको प्रक्रिया सुरु गर्ने मन्त्री सिंहले बताए ।
हाल ईलाका प्रहरी कार्यालय बहुलियामा २३ जनाको दरबन्दि रहेको छ । जिर्ण अवस्थाको भाडाको घरमा बस्दै आएका इलाका प्रहरी कार्यालयका प्रहरी जवानलाई खान,बस्न तथा सुत्नको समस्या रहेको छ ।
धनगढी १९ का वडा अध्यक्ष बाधुराम चौधरीले प्रहरी कार्यालयको सुविधा सम्पन्न भवन नहुंदा दरबन्दी अनुसार प्रहरी बस्न नसकेका बताए । उनले समुदायको सुरक्षा गर्ने प्रहरी भवन अभावले आफै असुरक्षित रहेकाले मन्त्री सिंहले प्रहरी कार्यालयको भवन निर्माणको लागी बजेट उपलब्ध गराउनेमा आफु विश्वस्त रहेको बताए ।