काठमाडौं,३० असार । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ पक्राउ परेका छन् । अबुधाबीबाट शुक्रबार राति स्वदेश फर्किएका सरिफसँगै उनकी छोरी मरियमलाई प्रहरीले गिरफ्तार गरेको हो ।
भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर फैसला सुनाउने बेला श्रीमतीको उपचारका लागि सरिफ परिवारसहित बेलायतमा थिए ।२५ जुलाइमा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा स्वदेश फर्किएका शरिफलाई विमानस्थलमा उत्रिएलगत्तै त्यहाँको प्रहरीले पक्रेको हो । बीबीसीका अनुसार शरिफका बाबु–छोरीलाई त्यहाँको नेशनल अडियाला जेलमा राखिएको छ ।
विमानस्थलमा तनाव
स्वदेश फर्किएका सरिफको स्वागतका लागि पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीले विमानस्थलमा उपस्थित हुन उर्दी नै जारी गरेको थियो ।तर पार्टी निर्देशनअनुसार विमानस्थलमा स्वागतका लागि पुगेका कैयौं समर्थकलाई प्रहरीले शर्राफकाे स्वागत गर्नबाट राेकेकाे थियाे ।यो क्रममा केहीबेर तनावसमेत भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।