कैलाली ।मालिका आधारभूत विद्यालय मोहन्याल–२, नावलीकी शिक्षिका सिर्जना जोशीलाई मसुरियास्थित घरमा फोन सम्पर्क नभएको हप्ता दिन भयो । उनी शिक्षक सेवा आयोगबाट पास भएपछि पदस्थापन भई विद्यालयमा आएकै दिनदेखि घरपरिवारसँग सम्पर्कविहीन छिन् । उनी मात्रै हैनन् नावली लगायतका १२ गाउँका सेवाग्राहीहरु वर्षौदेखि आफन्तको नियमित सम्पर्कमा छैनन् ।
‘आफन्तले फोन गर्दा सम्पर्क हुन सकेन मात्रै भन्छ,’ गजाडीका स्थानीय नरबहादुर बुढामगरले भने,‘हामीले फोन गर्नु परेमा टेलिकमको नेटवर्क खोज्दै सडक तथा जंगलतिर धाउनुपर्छ ।’ हातमा मोबाइल फोन लिएर नेटवर्क खोज्दै जाँदा जहाँ नेटवर्क भेटियो त्यहीबाट फोन गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘वर्षात नभएका बेला त ठीकै हो,’ उनले भने,‘यदि वर्षात भएका बेला आफन्तसँग फोन सम्पर्क गर्नु परेमा नेटवर्क खोज्न भिज्दै जंगलै जंगल चहार्नुपर्छ ।’ आफन्तसँग मात्रै नभई कारोबारका कुरा गर्न तथा व्यापार व्यवसायीलाई मोबाइलमा सम्पर्क गर्न समेत कठिनाइ पर्ने गरेको छ । बडिखर्कमा व्यापार सञ्चालन गरेका गणेश बमका अनुसार आफ्नो कारोबारका बारेमा गाउँमा फोन गर्न खोज्दा मोबाइलमा सम्पर्क नै हुँदैन । ‘सबैको हातमा मोबाइल फोन भए पनि नेटवर्क नहुँदा पहिलेकै झैँ गाउँमा खबर पठाउनु पर्ने अवस्था रहेको छ,’ उनले भने,‘नभए आफै गाउँमै पुगेर मान्छे खोज्नु पर्ने अवस्था यथावतै छ ।’
आफन्तसँग परिवारका सबै सदस्य बसेर सुख दुःखका कुरा गर्नु परेमा पनि नेटवकै खोज्दै सबैले जंगलै जानुपर्ने बाध्यता रहेको नावलीका स्थानीय उमेश सुनाखरी मगरले बताए । उनले भने,‘यहाँ घरघरमा मोबाइल छन्, तर घरमा नेटवर्क नै टिप्दैन । मोबाइल बोकेर जंगल धाउनुपर्छ ।’ गाउँमा नेटवर्कले काम नगर्दा रात विरात बिरामी पर्दा गुहार माग्नै नसकिने अवस्था आएको उनले सुनाए । ‘मोबाइल हुन्छ, तर राति समस्या पर्दा घर भित्र नेटवर्क नै आउँदैन,’ उनले भने,‘जसले गर्दा समस्या परेको छ ।’ नेटवर्क खोज्न जंगल जाँदा जंगली जनावरको आक्रमणमा परिन सक्ने र सर्प तथा विषालु सर्प, बिच्छी तथा किराको डर हुने गरेको उनले बताए । ‘मोबाइलमा नेटवर्क खोज्दै जंगल जाँदा विषालु सर्प तथ किराको डर पनि उस्तै छ,’ उनले भने ।
एक वर्ष अगाडि नेपाल टेलिकमले पण्डौन नजिकैको बजाडी लेकमा टावर स्थापना गरेर सञ्चालनमा ल्याएको थियो । टेलिकमको टावल सञ्चालन भए पनि मोहन्याल गाउँपालिकाको सदरमुकाम रहेको खिमडीमा समेत नेटवर्कले कामै गर्दैन । उक्त टावरले आसपासका गाउँहरु खिमडी, पट्रेनी, शान्तिपुर, ओखलढुङ्गा, कोल्तडी, देवरा, गाँजरी, नावली, चिलिमचौर, गजाडी, खटेउडा र सिरुवारीमा काम गर्दैन । धेरै कसरतपछि नेपाल टेलिकमले टावर खडा गरे पनि यहाँका आधा दर्जन बढी गाउँहरु अहिले पनि नेपाल टेलिकमको सम्पर्क बाहिर रहेको गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताए । उनले भने,‘मोहन्याल गाउँपालिकाको सदरमुकाम रहेको खिमडीमै त टेलिकमको नेटवर्कले काम गर्दैन,भने अन्य गाउँको अवस्था कस्तो होला ?’ आफूहरुले पटक पटक नेपाल टेलिकमलाई गुणस्तरीय नेटवर्कको व्यवस्था गरिदिन भन्दै पत्राचार गरे पनि सुनुवाई नभएको उनले बताए ।