धनगढी।मुलुकमा भएको आर्थिक मन्दीको असर समग्र क्षेत्रमा आ(आफ्नै तरिकाले गडेको छ । सरकारी सेवामा कार्यरत प्रहरी प्रशासनदेखि साना व्यापारीसम्मले आर्थिक मन्दीको स्वाद नराम्रोसँग चाखेका छन् ।
देश कै व्यापारिक हब भनेर चिनिने ठुला बजारका सटरहरुमा बिक्रीका सामाग्रीहरु होइन, ‘टुलेट’ लेखेका पर्चा झुन्डिन थाले । पसलहरू सुनसान छन् । उद्योगहरू आफ्ना उत्पादन आधीमा झार्न बाध्य छन् । निजी सवारी धनी बाटोमा गाडी राखेर मान्छे खोज्नमा व्यस्त छन् ।
आजभोलि नेपाली अर्थ बजारसित जोडिएका जो सुकैसँग कुरा गर्दा एउटै भनाइ सुनिन्छ, ुउफ , कस्तो लोदर लाग्ने मन्दी छ, यार बजारमा भीड छ तर व्यापार शुन्य छ । जसको कारणले अर्थ बजारसँग जोडिएका हरेक क्षेत्रका आममानिस निराश छन् । यिनै निराश हुने मध्येका एक हुन् कृष्ण बोहरा ।
कैलालीको अत्तरियामा बस्दै आएका बोहरालाई अघिल्लो वर्ष यति बेला घुम्न र घुमाउन भ्याइनभ्याई हुन्थ्यो । नयाँ वर्षको अवसरमा घुम्न जाने, पिकनिक जानेलगायतका सभा समारोहले गर्दा उनको स्कार्पियोले राम्रो बिजनेस पाउँथ्यो । उनले घरमा आउन महिनाको १, २ दिन मात्र फुर्सद पाउँथे । गाडी किनेसँगै आएको कोरोनाले पनि उनलाई खासै असर गरेन, उनले राम्रै बिजनेस पाए । मान्छे लिएर कहिले काठमाडौँ पुग्थे त कहिले झापा । उनलाई कोरोनाले कुनै असर गरेन । उनले राम्रै कमाई गर्दै थिए । तर, अहिले उनी घरमा बसेको महिनौँ हुन लाग्यो । यति बेला उनको न बजार छ न व्यापार ।
आर्थिक मन्दीका कारण ससाना समूहमा छरिएर जाने भ्रमण, पिकनिकलगायतका कार्यक्रम अब समूहमा जान थालेका छन् । साना गाडीको भाडा महँगो हुने हुँदा ठूलो जमातमा एकमुस्ट पैसा उठाएर जाने गरेको बोहराले बताए । बोहरा जस्तै व्यापार नभएर दुख पाएका धनगढीका अर्का निजी सवारी धनी हुन् खेम खतिवडा । उनी भन्छन् – ‘घरमा गाडी राख्दा राख्दा खिया लाग्ला भन्ने डर भैसक्यो, पुरानो उधारो पनि उठ्न सकेको छैन, नयाँ अर्डरको अत्तोपत्तो छैन । एनजीओहरूको सभा, समारोह, गोष्टी भएको भए केही बिजनेस हुन्थ्यो, सरकारको अझै टुङ्गो लागेको छैन, कसले भित्र्याउने एनजीओ । सबै अलपत्र अवस्थामा छन् । रेट घटाएर जान्छु भन्दा पनि कोइ मान्दैनन् ।’
गोदावरी नगरपालिका बस्ने व्यवसायी किरण ऐरले बैंकको चर्को ब्याजदरमा पैसा निकालेर गाडी किनेर गल्ती गरेको बताउँछन् । उनले बैंकको ब्याजदर ७ प्रतिशतबाट १६ पुगेको, घर भाडा १५ हजारबाट ३५ हजार पुगेको तर व्यापार शून्य हुँदा गाडी थन्क्याएर विदेश पलायन हुने अवस्थामा पुगेको गुनासो गर्छन् ।
आफ्नो गाडीको व्यापारबाट छोराछोरी पढाउन मात्र ठिक्क भएका कारण व्यवसायबाट पलायन हुने अवस्था आएको घोडाघोडी नगरपालिका १० का भारत कटुवालले बताए । उनले देशको आर्थिक सङ्कट नटरेसम्म कुनै व्यापारको भविष्य नभएको बताए ।
उनले भने, ‘साना तथा मझौला सवारी साधनबाट व्यापार गरेर नाफा कमाउँछु भन्नु मुर्खता हो। बसपार्कमा थामी नसक्नु भिड छ मान्छेको । साना गाडी रिजर्भ गर्नै छाडे, सबैका आँखा ठूलामा जान्छ ।’ देशको अर्थतन्त्रलाई चासो दिएर हेर्ने गरेका धनगढीका तेज बोहराले देशको अर्थतन्त्र धरासायी हुनुमा प्रदेश संरचना भएको बताए । उनले बजेटको ठुलो अंश नेताको तलब भत्तामा गएर साना व्यवसायीले कुनै अवसर नपाएको बताए । ‘आफ्नो कारोबारको तालमेल मिलाउन बैंकसित अलिकति कर्जा मागेको थिएँ कर्जा दिनु त कता हो कता डिपोजिटमा हाल्न उल्टो आफैँसँग पैसो माग्न थाल्यो। हिजो अस्तिसम्म सत्यनारायण भगवानको प्रसाद झैँ कर्जा बाँड्दै हिँडेका बैंकहरु अचेल डिपोजिट माग्दै हिँडेका छन् ।’
उनले बूढापाकाले दिएको उपदेश सम्झदै भन्छन्, ‘मेरो हजुरबुबाले भन्नुहुन्थ्यो राम्रा दिन एक्लाएक्लै आउँछन्, नराम्रा चाँही हुलै बाँधेर । ‘ अहिलेको अवस्था ठ्याक्कै त्यस्तै छ । राजधानीका विनोद चौधरी धनीको ग्राफमा उकालो चढ्दै छन् , गाउँका त्यस्ता हजारौँ विनोद खान नपाएर मर्ने अवस्था आउँदैछ । यता माग र पूर्तिको तानातानको चेपुवामा बैंकहरु छन् । आफ्नो ब्याजदर स्थिर मूल्य कायम गर्न सक्दैन अर्कोतिर विश्वव्यापि मन्दीले पनि नेपालमा गोडा फैलाउन सुरू गरेको छ । अनि कसरी निजी क्षेत्रका व्यापार अगाडि बढुन्।’ उनले बैंकका पैसा मालसमान खरिदमा कि बजारको उधारो कारोबारमा अड्किएको हुनसक्ने बताए ।
सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले भने आर्थिक मन्दीको असर साना सवारी साधनले मात्र नभएर ठूला साधनले पनि भोग्नु परेको बताउँछन् । उनले ठूला सवारी साधनमा पहिलेको तुलनामा आधा मात्र व्यापार हुने गरेको बताए । ‘पहिले दैनिक १२ देखि १४ वटासम्म धनगढीबाट काठमाडौँका लागि गाडी छुट्थ्यो । अहिले मुस्किलले ६ वटा त्यही पनि कहिल्यै भर्न सकिन्न ।’ उनले भने, ‘ अहिलेको अवस्था भ्रमण पिकनिक जाने छैन । पहिले स्कुलका भ्रमण, पिकनिक जाने लर्को ठूलो मात्रामा हुन्थ्यो कोरोनापछिको अवस्था शुन्य छ ।’
बजारमा व्यापार नहुनुको कारण धेरै हुन सक्छन् । तर, अहिलेको अवस्थामा कोभिडले थला पारेको बिजनेससँगै विशेषगरी आर्थिक मन्दी नै हो । यी दुईवटै तत्व एकअर्कासँग परस्पर रूपमा जोडिएर आउँछन् । कोभिड महामारीले सबैतिरको व्यापार चक्र ठप्प बनायो जसका कारण आर्थिक क्षेत्र चलायमान हुन सकेन । त्यसको असर घरको भान्सादेखि देशको अर्थतन्त्रसम्म पर्यो ।