धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारुहरुको सबैभन्दा ठुलो पर्व माघीमा यस वर्ष विदा नदिने भएको छ । प्रदेश सरकार गठन भएयता माघ १ र २ गते प्रदेशभरी माघी पर्वको सार्वजनिक विदा दिँदै आएकोमा यस वर्ष कटौति गरेको हो ।
एक हप्ता अघि सार्वजनिक भएको प्रदेश सरकारको २०८० सालको सार्वजनिक विदा सम्बन्धी सूचनामा प्रदेश सरकारले पाँच वटा पर्वमा विदा दिने निर्णय गरेको उल्लेख छ । चैत २२ गते बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा मनाइने प्रमुख पर्वहरुमा विदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।
सो निर्णय अनुसार प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा हुने उल्लेख छ । प्रदेशभर भदौ १ गते ओल्के पर्व, भदौ ८ गते गौरा पर्व शनिवार परेको अवसरमा (थप एक दिन विदा), भदौ ३१ गते थारुहरुको पर्व अतवारी, पुस २६ गते भुवा पर्व र चैत १९ गते खखडेहरा पर्वमा विदा दिने निर्णय गरेको उल्लेख छ ।
सो राजपत्रमा भनिएको छ –‘खण्ड (क) मा तोकिए बमोजिमका विदाको अतिरित्त थप एक दिनको विदा दिनुपर्ने भएमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्रीस्तरिय निर्णयमार्फत प्रदेश राजपत्रमा सूचना प्रकाशन गरि विदा दिने ।’
प्रदेश सरकारले प्रदेशमा छ वटा पर्वमा सार्वजनिक विदा दिन सक्ने व्यवस्था रहेको छ । सोही बमोजिम मन्त्रीपरिषदको बैठकले पाँच पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको छ भने थप एक दिन विदा तोक्ने अधिकार मन्त्रालयलाई दिएको छ ।