धनगढी । कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग सिकलसेल एनिमियाका १ सय २१ जना बिरामी थपिएका छन् ।
वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यस अघिसम्म सो गाउँपालिका बाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो ।
समुदायमा रहेका सिकलसेल एनिमियाको बिरामी पहिचानका लागि नौ वटा वडाको प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्दा १ सय २१ जना नयाँ बिरामी थप भएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार नौ वटै वडामा सिकलसेलका बिरामी फेला परेका छन् । करिब ९६ प्रतिशत थारु समुदायको बसोबास रहेको सो पालिकामा सिकलसेल एनिमिया भयावह अवस्थामा रहेको देखिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार रतनपुर स्वास्थ्य चौकी बसन्तामा १ सय ९० जनाको परीक्षण गर्दा ३१ जनामा सिकलसेल पुष्टि भएको छ । यस्तै, गदरिया स्वास्थ्य चौकीमा १ सय ९५ को परीक्षण गर्दा २५ जनामा सिकलसेल एनिमिया देखिएको छ ।
उजलीसेमरमा रहेको बेसौटी स्वास्थ्य चौकीमा ७६ जनाको परीक्षण गर्दा १३, टीसीएन डाँडास्थित हसुलिया स्वास्थ्य चौकीमा १ सय ५१ जनाको परीक्षण गर्दा १८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ ।
यसैगरी, पवेरा स्वास्थ्य चौकीमा १ सय ५९ जनाको परीक्षण गर्दा १५, उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ३२ जनाको जाँच गर्दा १९ जनामा सिकलसेल पोजेटिभ देखिएको छ ।
यो सँगै कैलारी गाउँपालिकामा मात्रै सिकलसेल एनिमियाको बिरामीको सङ्ख्या २ सय ९ पुगेको छ । यो रोग जिनमार्फत अभिभावकबाट सन्तानमा सर्ने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । सिकलसेल एनिमियाका बिरामी बाहक र बिरामी ९रोगी० गरेर दुई प्रकारका हुने गर्दछन् । बाहकमा कुनै पनि स्वास्थ्य समस्या नदेखिने गरे पनि बाहक बिरामीले अरूलाई रोग भने सार्ने गरेको चिकित्सकहरू बत्ताउँछन् । रोगी भने महिनैपिच्छे अस्पतालमा उपचार गराउने गरी बिरामी परिरहन्छन् । त्यस्ता बिरामीमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछ ।
आमा बुबा बाहेक वा बिरामी भएपछि सन्तानमा सिकलसेल सर्ने भएकाले कुण्डली हेराएर भन्दा पनि थारु समुदायका युवायुवतीले सिकलसेल जाँच गराएर विवाह गर्नु पर्ने डा। राजन पाण्डेयले जोड दिँदै आएका छन् । उनले सिकलसेल एनिमिया कसरी सर्छ भन्ने सचेतनाका लागि सिकलसेल कुण्डली पनि तयार पार्नु भएको छ । गोरखापत्रबाट