धनगढी । वडा अध्यक्ष फुटबल प्रतियोगितामा फूलवारी ११ स्पोर्ट युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा आयोजक क्लबले जित हासिल गरेको छ । कैलालीको धनगढी –१४ स्थित फूलवारीमा भएको वडा अध्यक्ष फूटवल प्रतियोगितामा आयोजक फूलवारी -११ ले जित हासिल गरेको हो ।
रामनवमीको अवसरमा सम्पन्न भएको वडा अध्यक्ष फुटबल प्रतियोगिताको फाईनल खेलमा मनकामना युवा क्लब जुगेडालाइ पराजित गर्दै फूलवारी स्पोर्ट्स क्लबले जित आफ्नो हातमा पारेको हो । प्रतियोगितामा बिभिन्न १४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता फूलवारी ११ स्पोर्ट टिमलाई नगद पुरुस्कार १ लाख १ सय ११ र उपविजेता मनकामना टिमलाई रु ५० हजार १ सय ११ नगद रकम दिइएको आयोजकले जनाएको छ । प्रतियोगिताको म्यान अफ दि म्याच हुने मनकामना युवा क्लबका पवन थापालाई १ हजार ५ सय नगद प्रदान गरेको र अन्य बिभिन्न बिधामा ४ खेलाडीलाई जनही ५ हजारको दरले पुरस्कार दिएको आयोजकले जानकारी दिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत नगद पुरस्कार दिएको आयोजक क्लबका अध्यक्ष महेश गोलेले बताए ।
कार्यक्रममा आयोजक फूलवारी स्पोर्ट्स क्लबका अध्यक्ष गोलेले गाउँका युवाहरुले गुणस्तरीय खेल मैदान अभावका बिचमा पनि आँट, जोस र टिमप्रति प्रतिवद्ध भएर खेल्नु प्रशंसायोग्य रहेको बताए । बालबालिकालाई हातमा आइफोन वा अन्य कुनै फोन दिनुभन्दा उनीहरूलाई कुनै पनि शारीरिक खेलप्रति उत्प्रेरित गर्दा जीवनमा अगाडि बढ्न सक्ने अध्यक्ष गोलेले बताए । ‘फोनले बच्चालाई कहिले ठूलो बनाउँदैन । फोन दिने अभिभावकले गलत गरिरहेकाले आफ्ना नानीहरूलाई खेल खेल्न हौशला दिनुपर्छ,’ उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका १४ का वडा अध्यक्ष मान बहादुर बिष्ट लगायतका अतिथिहरुले खेलकुदका विजेताहरूलाई पुरस्कार वितरण गरे । पुरस्कार वितरण पछि बोल्दै प्रमुख अतिथी बिष्टले खेल सबैको लागि अपरिहार्य रहेको प्रतिक्रिया दिए । जीवनको लामो यात्रामा मानिसको हार जित भइ नै रहन्छ, त्यसैगरी खेलकुदमा पनि सधैं जित्न सकिदैन । त्यसैले हारजित भइरहन्छ । खेल्ने र हारजित हुने भन्दा खेलमा भाग लिनु महत्वपूर्ण हो,’उनले भने । वडा अध्यक्ष फूटवल प्रतियोगिता रामनवमीको अवसरमा खेलाइएको हो ।