धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १० स्थित विवेक क्लिनिक दर्ता बिनै सञ्चालन भएको पाएपछि चैत ६ गते संयूक्त अनुगमन टोलीले सिल गर्यो । पसल सिल भएको छ दिन नबित्दै उपमहानगरपालिकाले जरिवाना गराई तीन महिनाभित्र दर्ता गर्ने सर्तमा सिल खोल्ने निर्णय गरेको पाईएको छ ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको अध्यक्षतामा बसेको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको सोमबार बसेको बैठकले सो निर्णय गरेको पाईएको छ । मंगलबार सार्वजनिक भएको समितिको बैठकको पहिलो निर्णयमा भनिएको छ –‘वडा नम्बर १० स्थित विवेक क्लिनिकमा संयूक्त रुपमा गएको अनुगमन टोलीले अनुगमन गर्दा वडा कार्यालय र औषधि व्यवस्था विभागमा दर्ता नगरी सञ्चालन गरेको अवस्थामा फेला परेको र बजार व्यवस्थापन सम्बन्धि ऐन, २०७९ अनुसार नगरेको पाईएकाले सिल गरिएको क्लिनिकलाई एक हजार पाँच सय जरिवाना गरि तिन महिनाभित्र दर्ता गर्ने सर्तमा हाललाई मुचुल्का तयार गरि सिल खोल्ने निर्णय गरियो ।’
उपमहानगरपालिकाको संयूक्त बजार अनुगमन टोलीले फागुन २८ गते कुनै निकायमा दर्ता नभएको भन्दै जागृति चौधरीले सञ्चालन गरेको टप केयर क्लिनिक वडा अध्यक्ष भुवन रिजालको रोहवरमा सिल गरेको थियो । सो फार्मेसीका विषयमा भने समितिको बैठकले औषधि व्यवस्था विभाग नेपालगञ्जको प्रतिनिधि बोलाई प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
चैत २ गते बसेको समितिको बैठकको निर्णय नम्बर ३ मा भनिएको छ –‘वडा नम्बर १४ स्थित डिपो बजारमा रहेको टप केयर कहि कतै दर्ता भएको नदेखिएको र क्लिनिकभित्र रहेको औषधि लगभग ३५ देखि ४० प्रतिशत म्याद नाघेको फेला परेकोले सिलबन्दी गरिएकोमा औषधि विभागको कार्यालय नेपालगञ्जलाई जानकारी गराई प्रतिनिधि बोलाई प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।’
गत फागुन १८ गते धनगढी उपमहानगरपालिकाको संयूक्त बजार अनुगमन टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित अमृत फार्मेसी दर्ता नभएको पाएपछि अनुगमन टोलीले तीन दिनभित्र दर्ता गर्न सल्लाह दिँदै फर्किएको थियो ।
धनगढी उपमहानगरपालिकाले संयूक्त बजार अनुगमन गर्दा दर्तानै नभएका फेला पारेका फार्मेसीमा फरक–फरक निर्णय गरेको छ । औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि पसलले व्यवसाय सञ्चालन गर्न नपाउने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उनले भने –‘औषधि पसललाई अहिलेसम्म गरेको गल्तीका आधारमा जरिवाना असुल गरिन्छ । तर, औषधि व्यवस्था विभागमा दर्ता नभएसम्म सञ्चालन गर्ने अनुमति कसैले दिन पाउँदैनन् ।’
उपमहानगरपालिकाले जरिवान तोकी व्यवसायी सञ्चालन गर्न अनुमति दिई केही फार्मेसीलाई राहात दिएको निर्णय जनप्रतिनिधिको स्वार्थसंग बाझिएको एक कर्मचारी बताउँछन् ।
उपमहानगरभित्रका फार्मेसी तीन महिनाभित्र दर्ता भईसक्नुपर्ने
धनगढी उपमहानगरपालिकामा सञ्चालनमा रहेका क्लिनिक तथा फार्मेसीलाई तीन महिनाभित्र दर्ता प्रक्रियामा आउन उपमहानगरपालिकाले निर्णय गरेको छ ।
उपप्रमुख कन्दकला रानाको संयोजकत्वमा रहेको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकले उपमहानगरपालिकाभित्र दर्ता नभई सञ्चालनमा रहेका औषधि पसललाई दर्ता प्रक्रियामा ल्याउने निर्णय गरेको हो ।
समितिको सोमबार बसेको बैठकको निर्णयमा भनिएको छ –‘उपहानगरपालिकाभित्र औषधि व्यवस्था विभागमा र उपमहानगरपालिकामा दर्ता नभई सञ्चालन भएका औषधि पसलले तीन महिनाभित्र सेवासंग सम्बन्धित कानुन अनुसार दर्ता गरी सक्न सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गर्ने छौं ।’