धनगढी । सोमबारदेखि अविरल परेको चैते झरीले सुदूरपश्चिम प्रदेश राजधानी धनगढी डुबानमा परेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले परेको झरीले धनगढी डुबानमा परेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पसलहरु डुबानमा परेका हुन् ।
स्थानीय शान्ति ज्ञवालीले पसलभित्र डुबान भएपछि समस्या भएको र बिहान पसल खोल्दा पुरै जलमग्न भएको बताइन् । पानी निकासका लागी नाली व्यवस्थापन नभएकोले डुबान भएको उनको भनाइ छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले भौतिक संरचना विस्तारका कारण ढल तथा नाली निकासको व्यवस्थापनमा ढिलाइ भएको बताए ।
उनले निर्माणाधीन चटकपुर–मोहना सडक खण्डको यथाशीघ्र निर्माणका लागि वडा कार्यालयबाट पटक पटक समन्वय तथा सम्पर्क गर्दा निर्माण कम्पनीले अटेरी गरेको बताए ।
सो सडक खण्ड अधुरो राखी सामान्य वर्षाका कारण स्थानीयको आवागमनमा समस्या भएको बताए । कैलालीसहित सुदूरपश्चिममा वर्षा जारी रहेको छ ।