धनगढीका एकजना वडा सदस्यलाई नदि किनाराबाट अवैधरुपमा माटो ओसार्दै गर्दा स्थानीयले समातेपछि...

धनगढी । धनगढी उपमहानगरपालिका एक जना वडा सदस्यलाई अवैधरुपमा माटो ओसार्दै गर्दा स्थानीयले नियन्त्रणमा लिएका छन् । उपमहानगरपालिकाको वडा नं. १८ का वडा सदस्य कृष्ण राम चौधरीलाई टिप्परमा मोहना नदिको किनाराबाट माटो ओसार्दै गर्दा स्थानीयले टिप्पर सहित नियन्त्रणमा लिएका हुन् । शनिबार बिहानै देखि मोहना नदिको किनाराबाट जेसिभि प्रयोग गरी टिप्परमा माटो ओसार्दै गरेको स्थानीयले थाह पाएपछि टिप्पर नियन्त्रणमा लिएको स्थानीयले जानकारी दिए ।
वडा सदस्य चौधरीले नेपाल भारतको सिमाना नजिक पर्ने मोहना नदिको किनाराबाट अबैधरुपमा जेसिभिको प्रयोग गरी टिप्परमा माटो बोकेको स्थानीयले बताए । स्थानीयले नदि कटान रोक्न तटबन्धन गर्नुपर्ने ठाउंबाट उल्टै वडा सदस्य जस्तो जिम्मेवार व्यक्तिले माटो उत्खनन गर्दा बाढि र नदि कटानको जोखिम बढेको बताए । स्थानीय लक्ष्मी देवकोटाले वडा सदस्यले नै कानुन मिचेर व्यत्तिगत प्रयोजनको लागी नदिकिनाराको माटो उठाउनु गलत भएको बताए । उनले वडा सदस्यलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
वडा सदस्य चौधरीले भने आफुले नदि किनारामा रहेको आफ्नो खेतबाट माटो उठाएको बताए । उनले नदि किनारामा रहेको खेतबाट आफुले १० टिप्पर माटो उठाएको बताए । वडा सदस्य चौधरीले वडा अध्यक्ष भुवन रिजाल र ससस्त्र प्रहरी संग अनुमति लिएर माटो बोकेको बताए पनि ससस्त्र प्रहरी र अध्यक्षले भने वडा सदस्यले कुनै अनुमति नलिई मनोमानी ढंगले माटो उठाएको बताए । अध्यक्ष रिजालले आफुलाई सो विषयमा कुनै जानकारी नभएको बताउंदै आफुले सो बिषयमा अनुुसन्धान गरी सत्य तथ्य पत्ता लगाउने बताए ।
वडा सदस्य चौधरी संग फूलवारी खबरले सो बिषयमा प्रतिक्रिया लिदां उनले आफुले वडा अध्यक्ष र ससस्त्र प्रहरी संग अनुमति लिएको बयान दिएका थिए । तर वडा अध्यक्ष र ससस्त्र प्रहरीले नदिजन्य पदार्थको उत्खनन् र निकासीको अधिकार नगरपालिको भएकाले आफुहरुले अनुमति दिनै नमिल्ने बिषय भएकाले वडा सदस्यले गलत बयान दिएको आरोप लगाए । चौधरी नेकपा एमाले बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।