काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चैत ६ गते दोस्रो पटक संसदमा विश्वासको मत लिने भएका छन् । उनले संसद सचिवालयमा चैत ६ गते सोमबार विश्वासको मत लिने भनी पत्र नै पठाएका छन् ।
उनले त्यस विषयमा दश दलीय गठबन्धनसँग छलफल गरेरमात्र विश्वासको मत लिने मिति तय गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले र राप्रपा बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । फागुन १२ गते राप्रपा र एमालेले १५ गते सरकार छोडेका थिए ।
प्रधानमन्त्रीले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उपराष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड एमाले, राप्रपासहित सात दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए। पहिलो पटक पुस २६ मा प्रचण्ड कांग्रेस, एमाले, राप्रपासहितका दलको विश्वासको मत पाएका थिए । प्रचण्ड संसद्मा अहिलेसम्मकै सर्वाधिक मत पाउने प्रधानमन्त्री पनि बनेका थिए ।
राष्ट्रपति निर्वाचनपछि कांग्रेस, माओवादी लगायत दश दलीय गठबन्धन बनेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने बुझिएको छ ।